एथलेटिक्सबाट उत्कृष्ट नतिजा पाएपछि बागमती प्रदेश १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शुक्रबार सम्पन्न १५औं राष्ट्रपति रनिङ सिल्डमा बागमती ३६ स्वर्ण पदकसहित टिम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको तीनदिने प्रतियोगिताको कुल ६६ स्वर्णमध्ये बागमतीले आधाभन्दा बढी आफ्नो पक्षमा पार्यो। एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमध्ये बागमतीले १२ स्वर्ण आफ्नो पक्षमा पार्दै आफ्नो टोलीलाई च्याम्पियन बन्न बलियो साथ दिएको हो। बागमतीले थप सात रजत र ११ कांस्य पदक प्राप्त गर्यो। गत वर्षको च्याम्पियन सुदूरपश्चिम प्रदेश हो।
तर, यसपल्ट भने सुदूरपश्चिम दोस्रो स्थानमै सीमित भयो। सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो। यस प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए। यु–१८ वर्षमुनि उमेरसमूहका विद्यार्थीले प्रतिस्पर्धा गर्ने रनिङ सिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबड्डी र एथलेटिक्स गरी कुल ६ खेलमा प्रतिस्पर्धा भएको थियो।
यी खेलमध्ये कराते, उसु र एथलेटिक्समा साथ पाउँदा लुम्बिनी प्रदेश तेस्रो भयो। लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य प्राप्त ग¥यो। लुम्बिनीले करातेमा तीन तथा उसु र एथलेटिक्समा समान एक स्वर्ण पदक जितेको हो। गण्डकी चौथो, कर्णाली पाँचौं, मधेस छैटौं र कोसी प्रदेश पुछारमा रह्यो।
गण्डकी र कर्णालीले समान चार स्वर्ण पदक प्राप्त गरे। गण्डकीले ११ रजत र १७ कांस्य तथा कर्णालीले ६ रजत र १९ कांस्य पदक जिते। मधेसले भने तीन स्वर्ण, दुई रजत र १० कांस्य जित्यो। कोसी प्रदेश भने स्वर्ण पदकविहीन बन्यो। कोसीले समान सात रजत र आठ कांस्य पदक जित्यो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायतले टिम च्याम्पियन टोली र खेलाडीलाई पुरस्कृत गरेका थिए। समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो। सात सय ५३ वटै स्थानीय तहबाट नै छनोट गरी युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि राष्ट्रपति रनिङ सिल्ड हुँदै आएको छ।
तर, यसपल्ट सरकारले स्थानीय तह, जिल्ला र प्रदेश छनोटका लागि बजेट नदिँदै छनोट प्रभावकारी हुन सकेन। कोसी प्र्रदेशका तीन जिल्लामा बजेट अभावका कारण नै छनोट भएन। यस प्रतियोगिताका लागि एक करोड ७५ लाख बजेट छुट्याएको थियो। तर, त्यसमा पनि सरकारले २५ प्रतिशत कटौती गर्यो। जसको कारण नेपाली खेलकुद विकास र राष्ट्रिय टोली निर्माणका लागि मेरुदण्ड मानिएको राष्ट्रपति रनिङ सिल्डको छनोट तल्लो तहबाट नै प्रभावकारी हुन सकेन।
एथलेटिक्स: अनिशा र प्रवीणलाई चार स्वर्ण
बागमतीका अनिशा थारू र प्रवीण रानाले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा तीन कीर्तिमानसहित चार स्वर्ण पदक जितेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राकमा कुल २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। तीमध्ये अनिशा र प्रवीण मिलेर ८ स्वर्ण जिते। तीनदिने प्रतिस्पर्धामा ९ कीर्तिमान बन्यो। तीमध्ये ६ कीर्तिमानमा यी दुईले नाम लेखाए। अनिशाले ट्रिपल जम्प, चार गुणा चार सय रिले र चार गुणा सय मिटर रिलेका कीर्तिमान बनाइन्। प्रवीणले चार गुणा सय, चार गुणा चार सय रिले र सय मिटर दौडमा कीर्तिमान रचेका हुन्।
%20%E0%A4%B0%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%80%E0%A4%A3%20%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A4%BE%20%E0%A4%AE%E0%A4%97%E0%A4%B0.jpg)
यी दुईले कीर्तिमानबापत कुल समान १५ हजार नगद पुरस्कार पनि पाए। अनिशाले शुक्रबार छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उनले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन्। २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान अनिशाले सुधार गरेकी हुन्।
लुम्बिनीकी पिन्जु चौधरीले रजत र कर्णालीकी सरिता शाहीले कांस्य जिते। शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र÷छात्राको चार गुणा सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने। छात्र चार गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना, सन्त दराई, सुविन लामा र नीरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन्।
बागमतीले २०८० सालमा लुम्बिनी (सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता) को ४४.०० सेकेन्डको कीर्तिमान तोड्यो। गण्डकीले रजत र सुदूरपश्चिम कांस्य जिते। यसै स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुचि मोक्तानले कीर्तिमान बनाए। यो टोलीले ५१.९ सेकेन्ड समय खर्चियो।
यस विधामा लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो। लुम्बिनीले २०७९ सालमा उक्त कीर्तिमान बनाएको हो। गण्डकीले रजत र सुदूरपश्चिमले कांस्य जिते। यसअघि छात्र एक सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर (१०.७६ सेकेन्ड), छात्रा चार सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक (१ मिनेट ०१.१९ सेकेन्ड), छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी (२ मिनेट १७.९ सेकेन्ड) र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु (५७.४० मिटर) ले कीर्तिमान स्थापित गरेका थिए।
त्यस्तै, छात्रछात्राको बागमती टोलीले चार गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे। छात्रमा प्रवीण राना मगर, नीरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए। छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढाले स्वर्ण जिते। उनले १३.७३ मिटर जम्प गरे।
सुदूरपश्चिमकै विक्रम नाथले रजत र बागमतीका अविनाश सुनारले कांस्य जिते। छात्र तीन हजार मिटर दौडमा कर्णालीका अनिल शाहीले सफलता पाए। उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे। कोसीका अमिर लिम्बूले रजत र लुम्बिनीका अरविन्दकुमार यादवले कांस्य जिते। यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले स्वर्ण चुमिन्।
उनले १० मिनेट ५२.९ सेकेन्डमा दौड पूरा गरिन्। बागमतीकी अस्मिता भुजेलले रजत र कर्णालीकी स्वस्तिका कठायतले कांस्य जिते। छात्र दुई सय मिटर दौडमा बागमतीका प्रवीण रानाले स्वर्ण जिते। उनले २२.४ सेकेन्ड समय लगाए। लुम्बिनीका शुभम् वमरेलले रजत र गण्डकीका सुदीप भण्डारीले कांस्य पदक जिते।
उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपालीले स्वर्ण जितिन्। उनले २७.१ सेकेन्ड समय लगाइन्। लुम्बिनीकी आरुषी भट्टराईले रजत र गण्डकीकी अनुष्का अधिकारी कांस्य पदक जिते। प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
भलिबल: सुदूर र गण्डकीलाई स्वर्ण
भलिबलमा भने छात्रमा गण्डकीले स्वर्ण, लुम्बिनीले रजत र सुदूरपश्चिमले कांस्य पदक जिते। छात्रामा सुदूरपश्चिमले स्वर्ण, लुम्बिनीले रजत र गण्डकीले कांस्य पदक जिते।
कबड्डी: बागमतीलाई दुई स्वर्ण
शुक्रबार नै सम्पन्न फाइनलमा कबड्डीतर्फ छात्र र छात्रा दुवैमा बागमतीले स्वर्ण जित्यो। दुवै फाइनसमा बागमतीले लुम्बिनीलाई हराएको हो। छात्रामा सुदूरपश्चिम र कर्णाली तथा छात्रमा कोसी र मधेस प्रदेशले कांस्य पदक जिते।
उसु: बागमतीलाई आठ स्वर्ण
राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत उसुमा बागमती ८ स्वर्णसहित टिम च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा बागमतीले थप दुई रजत र एक कांस्य पनि जित्दै च्याम्पियन भएको हो। सुदूरपश्चिम दोस्रो भयो। सुदूरपश्चिमले तीन स्वर्ण, सात रजत र दुई कांस्य हात पार्यो। तेस्रो भएको लुम्बिनीले एक स्वर्ण र दुई कांस्य प्राप्त गर्यो। १२ स्पर्धा समावेश उसुमा बाँकी चार प्रदेश स्वर्णविहीन बने।
अन्तिम दिन ८ स्वर्णको टुंगो लाग्यो। थाइची छ्वानको छात्रमा ६.४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६.७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे। दुवै बागमतीका हुन्। सान्सौंको पुरुष ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी पहिलो भए। महिला ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना विक र ४८ केजीमा बागमतीकी अनु मोक्तान शीर्ष स्थानमा रहे।
प्रकाशित: ३१ जेष्ठ २०८२ ०८:४१ शनिबार





