काठमाडौं – शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब शुत्रबारबाट हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आमने सामने हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगिताको दोस्रो खेलमा शुक्रबारै साविकको विजेता सशस्त्र प्रहरीको एपिएफ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रबीच प्रतिस्पर्धा हुँदैछ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउँदै छन् । दुई समूहमा विभाजन गरी सञ्चालन गर्न लागिएको प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता एपीएफ, जावलाखेल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिबल संघ रहेका छन् भने समूह ‘बी’ मा शिवम् न्यु डायमन्ड एकेडेमी, त्रिभुन आर्मी क्लब र नेपाल पुलिस क्लब अटाएका छन्।
वैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् भने विधागत उत्कृष्ट हुने खेलाडी जनही पाँच हजारबाट पुरस्कृत हुनेछन्।
यसैगरी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई आयोजक शेरबहादुर प्रतिस्ठानले नगद १० हजार रुपैयाँबाट पुरस्कृत गर्ने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।
बिहीबार बसेको टेक्निकल मिटिङमा प्रतिष्ठानले राष्ट्रिय खेलाडी सरस्वती चौधरीलाई छात्रवृत्ति प्रदान गर्यो । प्रतिष्ठानका अध्यक्ष खड्काले मासिक दुई हजारका दरले दुई वर्षको छात्रवृत्ति रकमको चेक चौधरीलाई हस्तान्तरण गरे।
प्रकाशित: २१ वैशाख २०७५ ०५:२४ शुक्रबार