९ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

यु-१६ क्रिकेट: मधेसको लगातार दोस्रो जीत

अभय यादवको घातक बलिङको मद्दतमा मधेस प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा जारी यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। यो जितसँगै मधेसले महत्त्वपूर्ण २ अङ्क आफ्नो खातामा थपेको छ।

वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा भएको खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित अभयले ८.२ ओभर बलिङ गर्दै २.२८ को किफायती औसतमा केवल १९ रन खर्चेर गण्डकीका ७ ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाए। उनले आफ्नो स्पेलमा ३८ वटा डट बल फालेका थिए।

अभयको धारिलो बलिङसामु गण्डकीका ब्याट्सम्यानहरू निरीह देखिए। उनले प्रारम्भिक ब्याट्सम्यान विनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ तथा समीर न्यौपानेलाई खाता खोल्न नदिई आउट गरे।

मध्य क्रममा पनि अभय उत्तिकै हाबी भए; उनले भुवन भट्टराई (३) लाई एलबीडब्लुको शिकार बनाए भने अनिश राउत (९) लाई स्टम्पिङ गराए। राज परियार (५) र रिदम पाण्डे (५) लाई भने अभयले आफ्नै बलिङमा आफैंले क्याच गर्दै आउट गरेका थिए।

अभयको उत्कृष्ट प्रदर्शनपछि गण्डकी प्रदेश ३२.२ ओभरमा मात्र १०४ रनमा समेटिन पुग्यो। गण्डकीका लागि रोज श्रेष्ठले सर्वाधिक २० रन जोड्दा विनय कार्की र रमित कँडेलले समान १५-१५ रन बनाए। सुप्रिम सुनारले ११ रनको योगदान दिए।

१०५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले १४.१ ओभरमा ५ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो।

मधेसको जितमा सुशान्त सिंहले १५ बलमा आक्रामक २५ रनको योगदान दिए। यस्तै, शेख अरमानले २३, माही यादवले १३ तथा नुमैर यादवले अविजित १० रन जोड्दै टोलीको जित सुनिश्चित गरे।

प्रकाशित: २१ जेष्ठ २०८२ १५:०१ बुधबार