१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

बैङ्गलुरु पहिलोपल्ट च्याम्पियन

इन्डियन प्रिमियर लिग

इन्डियन प्रिमियर लिग (आइपिएल) ले नयाँ विजेताको रूपमा रोयल च्यालेन्जर्स बैङ्गलुरुलाई पाएको छ।

अहमदाबाद क्रिकेट स्टेडियममा मंगलबार १८औं सिजनको फाइनलमा पन्जाब किङ्सलाई ६ रनले हराउँदै बैङ्गलुरु पहिलोपल्ट आइपिएल च्याम्पियन बन्यो। चौथोपल्टको फाइनलमा बैङ्गलुरुले उपाधि जितेको हो।

यसअघि सन् २००९, २०११ र २०१६ मा बैङ्गलुरु फाइनलमा पुगेको थियो। १७ वर्ष सिजन नै बैङ्गलुरुमा बिताएका विराट कोहलीले त्यो सफलता पाउन सकेका थिएनन्। तर, १८ नम्बर जर्सी लगाउने विराटले अन्ततः १८औं सिजनमा आएर यो सफलता प्राप्त गरे। आइपिएलको सुरुआत भएदेखि नै बैङ्गलुरुबाटै खेलेका कोहलीले अन्ततः १७ वर्षको पर्खाइपछि उपाधि जित्न सफल भए। यो उपाधिलगत्तै उनी भावुक पनि देखिए।

बैङ्गलुरुले १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। तर, जबाफमा पन्जाबले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा १८७ रन मात्र बनाउन सक्यो। मध्यक्रमका ब्याटर शशांक सिंहले अविजित ६१ रन बनाए।

उनले ३० बलमा तीन चौका र ६ छक्का हिर्काए। जोस इङ्लिसले ३९ रन जोडे। ओपनरद्वय प्रियान्स आर्याले २४ र प्रभसिमरन सिंहले २६ रन बनाए पनि पन्जाबको जितका लागि पर्याप्त भएन। बैङ्गलुरुको बलिङमा भुवनेश्वर कुमार र क्रुनाल पांड्याले समान दुई तथा यश दयाल, जोस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए।

एक लाख ३२ हजार दर्शक क्षमता रहेको अहमदाबाद कोहलीका समर्थकहरूले भरिएको थियो। जहाँ दुवै टोली पहिलो उपाधि जित्ने लक्ष्यमा थिए। स्टार क्रिकेटर विराटले पहिलोपल्ट आइपिएल उपाधि जित्ने आशामा उनका समर्थक थिए। उनीहरूले ‘कोहली कोहली’ भन्दै विराटको उत्साह जगाइरहे।

नतिजा आशाअनुरूप नै आयो। दुवै टोलीले पछिल्लो जितपछि कुनै परिवर्तन गरेका थिएनन्। बैङ्गलुरु पहिलो प्लेअफमा पन्जाबलाई नै हराउँदै चौथोपल्ट फाइनलमा पुगेको हो। त्यसपछि पन्जाबले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सलाई दोस्रो क्वालिफायरमा स्तब्ध बनाउँदै दोस्रोपल्ट फाइनलमा पुगेको थियो।

त्यसअघि कोहलीको ४३ रन प्रेरणामा बैङ्गलुरुले ९ विकेट गुमाउँदै १९० रनको योगफल बनाएको थियो। ओपनिङ ब्याटर कोहलीले ४३ रन जोडे, जुन सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। तर, कोहलीले उत्कृष्ट इनिङ भने खेल्न सकेनन्।

उनले ३५ बलमा मात्र तीन चौका हिर्काए। उनले दोस्रो ओभरमा ओपनिङ साझेदार फिल साल्टलाई १६ रनमा नै गुमाउन पुगे। त्यसपछि कोहलीले मयन्क अग्रवालसँग आक्रामक रूपमा इनिङ अगाडि बढाउन प्रयास गरे। तर, मयन्क २४ रन र कप्तान रजत पाटिदार २६ रन बनाएर आउट भए। लेग स्पिनर युजभेन्द्र चाहलले मयन्क र काइल जेमिनसनले पाटिदारलाई सिकार बनाएका हुन्। त्यसपछि कोहलीले इनिङले अगाडि बढाउने प्रयास गरे।

तर, १५औं ओभरमा अजमतउल्लाह ओमरजाईले कोहलीलाई आउट गरे। यससँगै उनका समर्थक शान्त बने। त्यसपछि लियाम लिभिङ्सटनले १५ बलमा २५ रन जोड्दै आक्रामक ब्याटिङको प्रयास गरे। तर, जेमिन्सनले लियामलाई आउट गर्दै तेस्रो विकेट पूरा गरे। एक समय बैङ्गलुरु सहजै दुई सय रन पारनजिक देखिन्थ्यो। तर, जितेश शर्मा १८औं र रोमारियो सेफर्ड २०औं ओभरको सुरुमा नै आउट भएपछि बैङ्गलुरुको लक्ष्य पूरा भएन।

शर्मा १० बलमा २४ रन र रोमारियो ९ बलमा १७ रन जोडेर आउट भए। डेथ ओभरमा अर्शदीप सिंहले तीन विकेट लिँदा तीन रन मात्र दिँदै उत्कृष्ट प्रदर्शन गरे। भारत र पाकिस्तानबीच द्वन्द्वका कारण यस सिजनको आइपिएल ९ दिन पछाडि धकेलिएको हो।  

प्रकाशित: २१ जेष्ठ २०८२ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App