नेपालका सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।
भारतको नयाँ दिल्लीमा भएको च्याम्पियनसिपमा सिनियर ८० केजीमाथि सुरेशले कांस्य पदक जितेका हुन्। तालकटोरा इन्डोर स्टेडियममा सम्पन्न पुरुष ८० केजी फ्रिस्टाइलको सेमिफाइनलमा सुरेश भारतीय खेलाडीसँग पराजित भएका हुन्।
यस तौलसमूहमा किर्गिस्तानका एइबोलोत अमानोभले स्वर्ण जिते। उनले फाइनलमा भारतका कुभेनी पुरोलाई हराएका हुन्। यस च्याम्पियनसिपमा नेपालबाट सुरेशसहित तीन पुरुष खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। तीमध्ये सुरेश मात्र पदक जित्न सफल भए। अन्य दुई खेलाडी सुजित यादव र रामकिशोर यादव भने पदकविहीन रहे।
पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सबालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए। उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धिसमेत भएको बताए।
यस प्रदर्शनले नेपाली कुस्तीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अली इद्रिसीले बताए। तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन्।
प्रकाशित: १२ जेष्ठ २०८२ ०७:२१ सोमबार





