७ असार २०८२ शनिबार
image/svg+xml
खेल

सागका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजीको तस्बिर अंकित ब्यानर सगरमाथामा

दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्बिर अंकित ब्यानर सगरमाथाको चुचुरोमा फहराइएको छ ।

कराते खेलाडी कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको चुचुरोमा  तस्बिर पुर्‍याएर मन्डेकाजीलाई सम्मान गरेकी हुन् ।

नेपाल प्रहरीमा कार्यरत कुन्जाङले गत साता सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो कराते खेलाडी तथा महिला प्रहरी हुन् ।

बिहीबार काठमाडौं आइपुगेकी कुन्जाङलाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको थियो ।

बौद्ध डोजोकी खेलाडी कुन्जाङले मन्डेकाजीको तस्बिरसहित नेपाल कराते महासङ्घ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा ‘महिलाविरुद्धको हिंसालाई अन्त्य गरौँ’ भन्ने नारासहितको ब्यानर पनि सगरमाथाको चुचुरोमा पुर्‍याएकी थिइन् ।

सगरमाथाको सफल आरोहण पछि शेर्पालाई प्रहरी सहायक निरीक्षक ९असई० बाट प्रहरी नायब निरीक्षक (सई)  मा बढुवा गरिएको हो ।

भक्तपुरको मध्यपुर थिमीका स्थानीय बासिन्दा मण्डेकाजीले सन् २०१९ मा घरेलु भूमिमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका थिए ।

उनले सागमा एकल र टिम काताका स्वर्ण पदक जितेका थिए । उनले अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाललाई पदक दिलाइसकेका छन् ।

यसैगरी मण्डेकाजीले मध्यमाञ्चल तथा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दा राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा पदक जितेका छन् । उनी अहिले प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।

प्रकाशित: ९ जेष्ठ २०८२ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App