भारतीय हक्कीले बिहीबार नेपाल हक्की संघलाई सहयोगस्वरूप खेल सामाग्री हस्तान्तरण गरेको छ।
नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले समान पाँच सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामग्री सहयोगस्वरूप प्राप्त भएको जनाएकी छन्। एसियाली हक्की महासंघका उपाध्यक्ष एवं भारतीय हक्की संघका महासचिव भोलानाथ सिंह, कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की संघका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामाग्री हस्तान्तरण गरेको हो।
टोलीले बिहीबारै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग पनि छुट्टाछुट्टै भेट गरेको राखेपकी कार्यकारी समितिकी सदस्यसमेत रहेकी सुवर्णले जानकारी दिए।
हक्कीका प्रतिनिधिले भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, यहाँ विकासका लागि मित्रराष्ट्र भारतको सहयोग र प्रशिक्षणलगायत विषयमा छलफल भएको थियो। सञ्चारमन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की संघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए।
भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्कीले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सो अवसरमा हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा र हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायत उपस्थित थिए।
प्रकाशित: ९ जेष्ठ २०८२ १०:३४ शुक्रबार





