२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

बुबाकै पदछाप पछ्याइरहेकी मिष्टी

भक्तपुरकी मिष्टी श्रेष्ठले माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन्। भर्खरै खेल क्षेत्रमा पाइला चालेकी मिष्टीका लागि यो पदक विशेष मात्रै बनेको छैन उनमा थप ऊर्जा भर्ने काम पनि गरेको छ। नेपाली खेलकुदमा भने छुटै सन्देश दिएको छ। कारण हो, मिष्टीको दोहोरो पदकसॅंग विशेष संयोग। 

मिष्टीको यो सफलताका पछाडि उनकै पिता विशेष हात छ। नेपालमै सम्पन्न १३औं सागमा करातेका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण पदक जित्दै नेपाली करातेमा इतिहास रचेका थिए। उनै मन्डेकाजीका छोरी हुन्, मिष्टी। जो अहिले बुबाकै पदछाप पछ्यारहेकी छिन्। आफ्नै बुबालाई पछ्याउॅंदै कराते खेल्न थालेकी मिष्टीले पदक जित्दै नेपाली खेलकुदलाई सुखद सन्देश दिएकी छिन्।

खेलकुदमा केही छैन, आफ्ना सन्तानलाई यसमा लगाउन हुँदैन भन्ने भाष्य सिर्जना भैरहेको छ। यसले नेपाली खेलकुद दुखित बनाइरहेको छ। तर, मन्डेकाजी अन्यभन्दा फरक भए। आफूले खेलेको खेलमा छोरीलाई पनि प्रवेश गराए। मिष्टीले पनि बुबालाई साथ दिइन्। एक समय बुबाले जस्तै कुमुते र काता दुवैमा अब्बल बन्ने प्रयास गरिन्।

मन्डेकाजीले १३औं सागमा दुई स्वर्ण कातामै ल्याएका हुन्। तर, एक समय मन्डेकाजी कातासॅंगै कुमुते पनि खेल्ने गर्थे। अहिले मिष्टीले बुबाकै शैली अपनाइन्। कुमुते र काता दुवैमा खेलिन्। उनले केही दिनअगाडि मात्र भएको अन्तर्राष्ट्रिय प्रतियोगिता दुई स्वर्ण जितेकी थिइन्।

मिष्टीले १४-१५ उमेर समूहमा कुमुते ५३ केजी तथा एकल कतामा स्वर्ण पदक जितेकी हुन्। मिष्टीको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो। जुन सफलतामा उनीसॅंगै मन्डेकाजी पमि निकै खुसी छन्। आफैँले देखाएको बाटोमा छोरीले सफलता पाउॅंदा कुन पिता खुसी नहोला र? तर, मन्डेकाजीलाई चाहिॅं यसले विशेष महत्व राख्ने छ। नेपाली खेलकुदमा पनि छुटै सन्देश दिने छ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दा थुप्रै घरेलु प्रतियोगितामा पदक जितेका श्रेष्ठ अहिले प्रशिक्षकका रूपमा काम गरिरहेका छन्। अब फेरिएको भूमिकामा पनि मन्डेकाजी उत्तिकै अब्बल रूपमा प्रस्तुत भइरहेका छन्।मन्डेकाजीसँगै राजेश श्रेष्ठ र केदार सिंखडाको प्रशिक्षणमा नेपाल प्रहरीले नेपाली करातेमा पछिल्लो समय एकछत्र राज गरिरहेको छ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका मन्डेकाजीको अबको लक्ष्यमा फरक भूमिका पनि देशका लागि ऐतिहासिक सफलता दिलाउनु हो। उनको यो लक्ष्यमा छोरी मिष्टीका सफलताले पनि थप आत्मबल भर्ने छ।

बुबाको सपनामा छोरी मिष्टी पनि यही खेलमा आफ्नो भविष्य बनाउने प्रयासमा छिन्। हुने बिरुवाको चिल्लो पात भने झैं मिष्टीले विद्यालयस्तरका विभिन्न प्रतियोगितामा आफूलाई अब्बल साबित गरिसकेकी छन्।  

भक्तपुरको माउन्ट सिनाइ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यायनरत १४ वर्षीया मिष्टीले पनि आफूलाई सम्भावना बोकेको खेलाडीका रूपमा स्थापित गराएकी छिन्। एक दिन बुबाले जस्तै राष्ट्रिय टोलीबाट खेलेर इतिहास रच्ने मिष्टीको सपना छ।

प्रकाशित: ६ जेष्ठ २०८२ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App