भ्याली पब्लिकले आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ।
भ्याली पब्लिक जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो। वसुन्धरास्थित आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित गर्यो। भ्याली पब्लिकका आर्यन गुरुङले १२ स्कोर गरे।
लालीगुराँस नेसनल एकेडेमी तेस्रो भयो। सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडिन्। फेरिल्यान्ड तेस्रो भयो। जुनियर ब्वाइजमा रियान शेरचन र सिनियर गल्र्समा लोरिशा गौचन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। दुवै भ्याली पब्लिकका हुन्।
जुनियर ब्वाइजमा लालीगुराँसका साहिद पुन र सिनियर गल्र्समा फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने। जुनियर ब्वाइजमा न्युटनका आशिष पुन र सिनियर गर्ल्समा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए। जुनियर गल्र्समा क्यानभास वसन्त ऋतु तथा सियिनर गल्र्समा केभिकेएसएस उदीयमान टोली ठहरिए।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, बिएनएका प्रिन्सिपल टंककुमार चापागाईं, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन, बिएनएका विद्यालय संयोजक सन्तोष फुँयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२/१२ टोलीले प्रतिस्पर्धा गरेको बिएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन्।
प्रकाशित: ५ जेष्ठ २०८२ ०८:०० सोमबार

