आगामी असारको पहिलो साता काठमाडौंमा मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप हुने भएको छ।
काठमाडौं महानगरपालिका वडा–२२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिप हुन लागेको हो। यस प्रतियोगितामा काठमाडौं महानगरको ३२ वटै वडामा रहेका स्थायी र अस्थायी रूपमा बसोबास गर्ने खेलाडीले प्रतिस्पर्धा गर्न पाउने भएका छन्।
काठमाडौं महानगरपालिका वडा–२२ ले शनिबार पत्रकार सम्मेलनमा आयोजना गर्दै स्थानीय निकायको सिफारिसका आधारमा महानगरभित्र अस्थायी बसोबास गर्ने खेलाडीको पनि सहभागिता च्याम्पियनसिप गर्न लागेको जानकारी दिएको हो। प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले यस वडाभित्र अन्तर्राष्ट्रिय स्तरमा ख्याती पाएका खेलाडी पनि रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए।
वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले महानगरमा स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यअनुरूप पहिलोपटक बडिबिल्डिङ प्रतियोगिता आयोजना गरिन लागिएको धारणा राखे।
प्रतियोगितामा पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछन्। प्रत्येक तौलसमूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ७५, ५० र २५ हजार रूपैयाँ नगद पुस्कार पाउने आयोजकको भनाइ छ।
मिस्टर महानगर उपाधि विजेताका लागि सबै तौलको विजेताबीच ओभरल प्रतिस्पर्धा गराइनेछ। मिस्ट महानगरले पाँच लाख रूपैयाँ पाउनेछ। आगामी वर्षदेखि महिला र अन्य स्पर्धा समावेश गरिने पनि संयोजक श्रेष्ठले बताए।
प्रकाशित: ४ जेष्ठ २०८२ ०८:३३ आइतबार





