१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

‘ओलम्पिकमा नेपाल’ विमोचन

सन् १९६४ देखि २०२४ सम्म नेपालको ओलम्पिक सहभागितालाई समेटिएको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधबार एक कार्यक्रमका बीच विमोचन भएको हो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंहलगायत कुल १५ जनाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

उक्त पुस्तकमा पारालिम्पिक, समर तथा ग्रीष्मकालीन ओलम्पिक र युथ ओलम्पिकमा नेपाली खेलाडीको सहभागिताबारे उल्लेख छ। खेलाडीहरूको संक्षिप्त जानकारी तथा उपलब्धि उक्त पुस्तकमा समावेश रहेको राखेप प्रचारप्रसार शाखा प्रमुख खुसराज दाहालले जानकारी दिए।

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर उक्त पुस्तक प्रकाशित गरिएको छ। हालसम्म सहभागी खेलाडीको विवरण पुस्तकमा समेटिएको छ। राखेपका सदस्यसचिव घिसिङले नेपाली खेलकुदको इतिहासलाई जीवन्त राख्न यो पुस्तकले सहयोग पुर्‍याउने बताए।

चार पटकसम्म भाग लिएका ओलम्पियन वैकुण्ठ मानन्धरले खेलाडीहरूलाई सबै नागरिकसम्म पुर्‍याउने काम पुस्तकले गर्ने आशा व्यक्त गरे। अर्का ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले पुस्तक परिषद्को महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे।

राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपाल, एसियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पणसहित पछिल्लो तीन वर्षमा पाँच वटा पुस्तक प्रकाशन गरी सकेको प्रचार शाखाका प्रमुख दाहालले जानकारी दिए।

उक्त कार्यक्रममा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई उत्प्रेरणा गर्नुका साथै खेलसााग्रीसमेत वितरण गरिएको राष्ट्रिय टोली तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: १ जेष्ठ २०८२ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App