१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

आठ वर्षदेखि अलपत्र कर्णालीको पहिलो हाई अल्टिच्युड ट्रेनिङ सेन्टर

जुम्लाको पातारासी गाउँपालिका–३ लौठचौरमा निर्माणाधीन ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ आठ वर्षदेखि अलपत्र छ। विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा बन्न सुरु भएको कर्णालीको पहिलो यो ट्रेनिङ सेन्टर बजेट अभाव र जग्गा विवादले रोकिएको स्थानीय ललिता रावत बोहोराले बताइन्। 

उनले भनिन्, ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको निर्माण अझै अघि बढ्न सकेको छैन।’ जुम्लामा खेलप्रति युवायुवतीको आकर्षण बढे पनि संरचना अभाव र निर्माण सुरु भएका पूर्वाधार अलपत्र हुँदा खेलाडी निराश छन्। लामो समयदेखि निर्माण रोकिँदा खेलकुद संरचना नबन्ने भन्दै स्थानीय ललिता निराश छन्। 

आर्थिक वर्ष ०७४/७५ मा तयार डीपीआरले विश्वकै अग्लो स्थानमा सुविधायुक्त ट्रेनिङ सेन्टर बनाउन ३२ करोड रुपैयाँ लाग्ने उल्लेख छ। हालसम्म जग्गा सम्याउन करिब ३ करोड खर्च भइसकेको छ। बजेट अभाव मुख्य बाधक बनेको स्थानीय युवा तिलाराज महताराले बताए। उनले भने, ‘गाउँमै सुविधायुक्त ट्रेनिङ सेन्टर बन्ने आशा निराशामा बदलेको छ। जग्गा विवादले निर्माण अनिश्चित छ।’

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘चालु आर्थिक वर्षमा संघीय सरकारले ट्रेनिङ सेन्टरका लागि ६ करोड २९ लाख बजेट विनियोजन गरेको छ। तर जग्गा पास नहुँदा काम अघि बढ्न सकेको छैन।’ जग्गा विवाद टुंग्याउन जिल्ला प्रशासनमा सर्वदलीय बैठकबाट निर्णय भए पनि विवाद सुल्झिएको छैन, जसले ट्रेनिङ सेन्टर अलपत्र बनेको छ।

जिल्ला खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख बरमबहादुर महतले स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा ४ करोड र सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा २ करोड २९ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको बताए। तर जग्गा पास नहुँदा काम अघि बढ्न सकेको छैन। 

हाई अल्टिच्युड मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेल मैदान बनाउने, साथै स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुना घर, टिकट काउन्टरलगायत पूर्वाधार निर्माण गर्ने डीपीआरमा उल्लेख छ।

पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा खेल मैदानका लागि १० लाख बजेट विनियोजन गरेको थियो। २०८० फागुन २७ देखि सुरु भएको निर्माण २०८१ असार २० मा सम्पन्न गर्ने लक्ष्य थियो। जग्गा ट्रेनिङ सेन्टरको नाममा नभए पनि तीनै तहका सरकारले पटकपटक लगानी गरेका छन्। 

पूर्वाधार बनेपछि खेल प्रवर्द्धनसँगै जुम्लाको स्याउ, सिमी, मार्सी, जडीबुटीको बजार विस्तार र खेल पर्यटन विकास हुने स्थानीयको अपेक्षा छ। संरचना बनेपछि प्रशिक्षणसँगै उच्च हिमाली भेगको अवलोकन, शुद्ध हावापानी, अर्गानिक खाना र आतिथ्यले देशी–विदेशी खेलाडी आकर्षित हुने सरोकारवालाको विश्वास छ।

प्रकाशित: ३१ वैशाख २०८२ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App