१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास

क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अर्का स्टार क्रिकेटर रोहित शर्माले सन्यास लिएको एक साता पनि नहुँदै विराटले इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यास घोषणा गरेका हुन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईं) लाई आफ्नो निर्णयबारे जानकारी गराएको केही दिनपछि उनी टेस्ट क्रिकेटबाट बाहिरिएका हुन्। 

३६ वर्षीय कोहलीले टेस्ट क्रिकेटमा १२३ खेलबाट ९२३० रन बनाएका छन्। उनले आफ्नो इनिङमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्। उनको ब्याटिङ औसत ४६.८५ रहेको छ। उनको कप्तानीमा भारतले ६८ टेस्ट खेलेको थियो । जसमा ४० मा जित हासिल गरेका थिए ।  विराट भारतको सबैभन्दा सफल टेस्ट कप्तान मानिन्छन् ।  

सन् २०११ को जुनमा वेस्ट इन्डिजविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टेस्टमा डेब्यू गरेका बिराटले गत जनवरीमा अस्ट्रेलियासँग अन्तिम टेस्ट खेलेका थिए ।  

आफ्नो सन्यास घोषणा गर्दै कोहलीले सामाजिक सञ्जालमा लेखेका छन्,  'टेस्ट क्रिकेटमा पहिलोपटक निलो टोपी लगाएको १४ वर्ष भइसकेको छ। यो यात्राले मलाई परीक्षण गर्‍यो, आकार दियो, र जीवनभरका पाठहरू सिकायो । यो फर्म्याटबाट टाढा जानु सजिलो छैन, तर यो सही लाग्छ। मैले यसलाई सबैथोक दिएको छु र यसले मलाई आशाभन्दा बढी दिएको छ।'

कोहलीको सन्यासले भारतको आगामी इंग्ल्याण्ड भ्रमणमा युवा खेलाडीहरूलाई अवसर प्रदान गर्नेछ।  

कोहलीले यसअघि २०२४ मा भारतले दक्षिण अफ्रिकालाई पराजित गरी टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले एकदिवसीय क्रिकेट खेल्न जारी राख्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: २९ वैशाख २०८२ १३:२१ सोमबार

#ViratKohali #indian cricket