८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
खेल

जुम्ला-रारा अल्ट्रा म्याराथनमा चार विदेशीसहित ५९१ धावक

जुम्लामा छैटौं जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ। खलंगा बजारको बाल मन्दिरबाट म्याराथन सुरु भएको हो। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सिठी फुकेर म्याराथनको उद्‌घाटन गरे। म्याराथन बिहान ६:३० बजे सुरु भएको थियो।

यो वर्षको म्याराथनमा ५९१ धावकले भाग लिएको कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए। जुम्लादेखि रारा तालसम्मको ५१ किलोमिटर दूरीमा म्याराथन भएको छ। अघिल्ला वर्षहरूमा ४९ किलोमिटरमा आयोजना भएको थियो।  

म्याराथनमा ४ विदेशी खेलाडी सहभागी छन्। त्रिभुवन आर्मी क्लबबाट २ धावकले भाग लिएका छन् भने पोल्यान्ड, अमेरिका, फ्रान्स र भारतबाट १-१ धावक सहभागी छन्। म्याराथनमा ५ किलोमिटर र १० किलोमिटरको दौड पनि भएको छ। ५ किलोमिटरमा १५५ र १० किलोमिटरमा ३५५ खेलाडी सहभागी थिए।

पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायत १० जिल्लाबाट खेलाडी जुम्ला आएका छन्। खाली पाटन, चौथा, डाब, चुचेमारा बेस क्याम्प र चुचेमाराको टपमा चेक प्वाइन्ट राखिएको छ। देवीदत्त गण जुम्लाले स्वयंसेवकको भूमिका निर्वाह गरेको छ 

म्याराथनको मार्ग खलंगाको बाल मन्दिरबाट चेरे, खाली, न्याउरी घाट, चौथा, डाब, चुचेमारा हुँदै रारा तालसम्म तय भएको छ। म्याराथनका लागि २८ लाखभन्दा बढी रकम खर्च हुने अनुमान छ।

खेलकुदमार्फत कर्णालीको पर्यटकीय सुन्दरता उजागर गर्ने उद्देश्यले हरेक वर्ष म्याराथन आयोजना हुँदै आएको छ। ‘जुम्ला-रारा म्याराथन केवल इभेन्ट होइन, खेलाडी उत्पादन गर्ने माध्यम बनेको छ,’ विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले भने। 

धावकहरूलाई पञ्चेबाजा बजाएर बिदाइ गरिएको थियो। म्याराथनमा खेलाडीको हौसला बढाउन गाउँबाट स्थानीय बासिन्दा खलंगा आएका थिए। म्याराथनमा प्रथम हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार नगद, प्रमाणपत्र र मेडल पाउनेछन्। 

प्रकाशित: २७ वैशाख २०८२ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App