अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७९ सालदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग यस वर्ष पुसदेखि नै सुरु गर्ने भएको छ।
धुलिखेलमा शुक्रबार भएको एन्फा साधारणसभाले २०८२ सालका लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा ‘ए’ डिभिजन लिग पुसदेखि गर्ने निर्णय गरेकोे हो। क्यालेन्डरअनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस १ देखि २०८३ जेठ ३१ गतेसम्म हुने र महिला लिग भदौमा हुने तय भएको छ। यससँगै करिब तीन वर्षपछि नेपालको शीर्ष डिभिजन हुने आशा जागेको छ। जेठ ५ देखि २४ सम्म एन्फा प्रेसिडेन्ट लिग हुने भएको छ।
जेठ १८ देखि साउन १६ सम्म सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुने क्यालेन्डरमा उल्लेख छ। ‘बी’ डिभिजन लिग २०८० फागुन २० देखि २०८३ वैशाख ३१, एन्फा यु–१६ र यु–१८ लिग साउनदेखि कार्तिक सम्म आयोजना गरिनेछ।
यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिपलगात यतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन्।
नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूण खेल, साफ यु–१७ च्याम्पियनसिप, एएफसी यु–२३ एसियन कप र साफ च्याम्पिनसिपमा सहभागिता जनाउनेछ। महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यु–२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यु–२० एएफसी एसिया कप छनोट, साफ यु–१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।
थापालाई रोक
एन्फाको उक्त साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई रोक लगाइदा विवाद उत्पन्न भएको थियो। फिफाको १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि थापा पहिलोपल्ट एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुँदै थिए।
साधारण सभामा भाग लिने अदालतको कागजसहित थापा शुक्रबार बिहानै धुलिखेल पुगे पनि उनीसँग साधारणसभाको लागि एन्फाद्वारा जारी पास थिएन। सोही पास नभएको भन्दै थापा र उनका छोरा गौरव थापालाई प्रवेश नदिइएको हो। केही समय स्थिति तनावपूर्ण पनि बन्यो। आक्रोशित बनेका थापाले अदालतको निर्णय मान्नुपर्ने मागसहित लामो समय विवाद गरेका थिए। तर पनि थापालाई उद्घाटन सत्रमा प्रवेश दिइएन।
थापाले गेटमा रोक्ने सम्भावना देखिएपछि प्रमुख अतिथिका रूपमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ सभाहलको पछाडि गेटबाट कार्यक्रममा प्रवेश गरेका थिए। थापा सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यका रूपमा साधारणसभामा सहभागी हुन पुगेका थिए। थापालाई साथै दिँदै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रविन्द्र चन्द र रूपेश अधिकारी पनि उदटन समारोहमा सहभागी भएनन्।
प्रतिबन्ध फुकुवा भए पनि एन्फाले आफूलाई रोक्न सक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए।
प्रकाशित: २७ वैशाख २०८२ ०७:२० शनिबार