२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

इलामका स्थानीयतह बीचको फुटबल प्रतिस्पर्धा सुरु हुँदै

इलामको माइजोगमाई गाउँपालिकामा अन्तरपालिका फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ। तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फुटबल प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका एक–एक टिम सहभागी हुने छन्।  

माइजोगमाई गाउँपालिकाअन्तर्गतको खेलकुद विकास परिषद्ले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा चुलाचुली गाउँपालिका र सूर्योदय नगरपालिका भिड्दै छन्। गाउँपालिकाको केन्द्र नयाँबजारस्थित बालागुरु खेल मैदानमा दिउँसो २ बजे उद्घाटन खेल हुने छ।

वैशाख २६ मा आयोजक माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिका, त्यसै दिन माई नगरपालिका र इलाम नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ। २७ गते सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिका खेल्ने छन्। त्यही दिनको दोस्रो खेल सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बीचको विजेता टोलीले माङ्सेबुङ गाउँपालिकाले खेल्ने छ। 

२८ गते रोङ गाउँपालिकाले सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिका बीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल वैशाख ३१ गते हुने खेलतालिका छ। विजेता टोलीले नगद २ लाख १ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक परिषद् सचिव महेश सापकोटाले बताए। उपविजेताका लागि नगद १ लाख ३१ हजार १ सय ११ पुरस्कार राखिएको छ।  

खेलमा अन्य विद्यागत पुरस्कारसमेत छन्। प्रतियोगितामा आफ्नो पालिकाले छनोट गरेका भन्दा बाहिरका खेलाडीलाई खेल्न अनुमति नभएको र खेलाडीले आफू सम्बन्धित पालिकाकै भएको आधिकारिकता खुलाउनुपर्ने आयोजक अध्यक्ष देवेन्द्र पौडेलले जनाए।  

यही मैदानमा गत १६ देखि १९ गतेसम्म माइजोगमाई वडास्तरीय प्रतियोगिता आयोजना गरिएको थियो। माइजोगमाईले त्यो प्रतियोगिताबाट पालिकास्तरको टिम तयार गरी बन्द्य प्रशिक्षणमा राखेको छ।  

प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए। ‘प्रत्येक वर्ष पालिकाले बजेट व्यवस्था गरी फुटबललगायत खेलको विकासमा सघाउँदैछ,’ उनले भने, ‘पालिकास्तरीय प्रतियोगिताबाट माइजोगमाई गाउँपालिकामात्र होइन, जिल्लाकै खेल विकासमा सहयोग पुग्छ।’

प्रतियोगिताका सहभागी टिमलाई यातायात खर्च, खेलाडी दुर्घटना बिमालगायत सुविधा रहेको आयोजकले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८२ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App