निसान श्रेष्ठ र आरभसम्राट हाडा बिहीबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा निसानले निहालजंगबहादुर थापालाई ६–३ र ६–२ तथा आरभले राजवीर प्रधानलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे। महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१ तथा स्वस्तिका विष्टले आइशा डोल्कर गुरुङलाई ६–१ र ६–१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सीमान्त गुरुङलाई ६–० र ६–० तथा सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे। ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षितको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६–४ र ६–२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सीमान्त र नवीन श्रेष्ठको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पन्छाउँदै फाइनलमा पुगे।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६–३ र ६–१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६–३ र ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे। ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१ र ६–० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६–२ र ६–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।
५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६–१ र ६–३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर विसीको जोडीलाई ७–६ र ६–१ ले हराउँदै फाइनलमा पुगे।
भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६–२ र ६–१ ले पराजित गरी फाइनलमा पुग्यो। ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ पहिलो भए। उनले फाइनलमा भिक्टर राणालाई ६–२ र ६–३ ले पाखा लगाए।
प्रकाशित: १९ वैशाख २०८२ ०८:०४ शुक्रबार





