बेलायतका चर्चित अभिनेता तथा हास्य कलाकार रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारको कसुरमा साढे १० वर्ष जेल सजाय सुनाइएको छ।
लन्डनस्थित साउथवार्क क्राउन कोर्टले सोमबार ५१ वर्षीय ब्रान्डलाई एक महिलालाई बलात्कार र अन्य तीन महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै १० वर्ष ६ महिना जेल सजाय सुनाएको हो। उनले सन् २००४ देखि २००९ सम्म ती अपराध गरेको अदालतको ठहर छ।
न्यायाधीश जोएल बेन्नाथनले ब्रान्डले आफ्नो प्रसिद्धिको दुरुपयोग गर्दै महिलाप्रति अहंकारी व्यवहार देखाएको बताए। उनले ब्रान्डलाई सम्बोधन गर्दै भने, ‘तिमी प्रसिद्ध हुँदै गयौ। धेरैका नजरमा तिमी रमाइलो र आकर्षक व्यक्तित्वका धनी थियौ। तर तिमी यौन शिकारी पनि बनेका थियौ।’
ब्रान्डले आफूमाथिका आरोप अस्वीकार गर्दै महिलासँगका सबै सम्बन्ध आपसी सहमतिमा भएको दाबी गर्दै आएका थिए। तर आठ पुरुष र चार महिला सदस्य रहेको निर्णायक (जुरी) मण्डलले उनलाई चार वटा अभियोगमा दोषी ठहर गरेको हो। उनलाई अन्य दुई वटा बलात्कारका अभियोग र एक महिलामाथि अभद्र यौन दुर्व्यवहारको प्रयास गरेको आरोपबाट भने सफाइ दिइएको छ।
अभियोजक रिएल कार्मी-जोन्सले ब्रान्डमाथि आफ्नो प्रसिद्धि र प्रभाव प्रयोग गरेर महिलासम्म पहुँच बनाए आरोप लगाइन्। ‘उनले आफ्नो प्रसिद्धिसँगै आएको शक्ति महिलासम्म पहुँच बनाउन प्रयोग गरे। यसले आफूले जे गरे पनि सजाय भोग्नुपर्दैन भन्ने विश्वाससमेत उनलाई दिलाएको थियो,’ उनले अदालतमा भनिन्।
अदालतमा पीडित महिलाहरूले आफूहरूमाथि भएको घटनाले लामो समयसम्म मानसिक असर पारेको बताएका थिए। सन् २००९ मा ब्रान्डको कमेडी कार्यक्रमपछि उनीसँग भेटेकी एक महिलालाई आफ्नै घरमा बलात्कार गरेको अभियोगमा उनी दोषी ठहरिएका थिए। ती महिलाले घटनापछि खान र सुत्नसमेत समस्या भएको तथा मानसिक तनावका कारण अत्यधिक मदिरा सेवन गर्न थालेको बताइन्। ब्रान्डको प्रसिद्धि र प्रभावका कारण आफूले न्याय पाउनेमा विश्वास गर्न नसकेको उनको भनाइ थियो।
अर्की महिलाले रेडियो स्टेसनमा भएको यौन दुर्व्यवहारले आफ्नो जीवनमा लामो समयसम्म असर पारेको बताइन्। त्यस्तै, सन् २००९ मा विज्ञापनको रेकर्डिङका क्रममा अनुचित व्यवहार भएको भन्दै दोषी ठहरिएकी महिलाले तत्कालीन व्यवस्थापनले आफ्नो उजुरी दबाएको बताइन्।
ब्रान्डका वकिल इयान विन्टरले अदालतमा उनको विगतको राम्रो आचरण, परोपकारी काम र लागूपदार्थ तथा मदिराको लतबाट बाहिर निस्कने प्रयासलाई ध्यान दिन आग्रह गरेका थिए। तर अदालतले उनलाई साढे १० वर्षको जेल सजाय सुनाएको हो। उनले सजायको दुई तिहाइ अवधि जेलमा बिताएपछि सर्तसहित रिहा हुन पाउनेछन्। उनलाई यौन अपराधीको सूचीमा जीवनभर राखिनेछ।
सन् २०२३ मा द टाइम्स र च्यानल ४ ले ब्रान्डबाट यौन दुर्व्यवहार भोगेको दाबी गर्ने महिलाहरूको विवरण सार्वजनिक गरेपछि उनीविरुद्ध प्रहरी अनुसन्धान सुरु भएको थियो।
सन् २००० को दशकमा टेलिभिजन कार्यक्रम र बीबीसी रेडियो शो सञ्चालन गरेर चर्चामा आएका ब्रान्डले ‘फरगेटिङ सारा मार्सल’ र ‘गेट हिम टु द ग्रीक’ जस्ता हलिउड फिल्ममा अभिनय गरेका छन्। उनी अमेरिकी गायिका केटी पेरीका पूर्वपति पनि हुन्।
पछिल्ला वर्षमा उनी मुख्यधारको सञ्चारमाध्यमबाट टाढिएर अमेरिकाको फ्लोरिडामा बस्दै सामाजिक सञ्जालमा धार्मिक, स्वास्थ्य र षड्यन्त्रसम्बन्धी विषयमा भिडियो सार्वजनिक गर्दै आएका थिए।
यसैबिच, ब्रान्डमाथि अन्य दुई वटा बलात्कारका आरोपमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। तीमध्ये एउटा घटनामा आरोप लगाउने युवती घटना हुँदा १६ वर्षकी रहेको बताइएको छ।
प्रकाशित: २३ कार्तिक २०८३ २०:५३ सोमबार





