सिरिजङ्घा महोत्सवको अवसरमा सञ्चालित कन्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङ राईले हात पारेका छन् । उनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २५ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद २ लाख ८ हजार ५ सय ८६ रुपैैयाँ पुरस्कार जिते ।
प्रतियोगितामा जुम्लाका धिरजबहादुर बुढा दोस्रो बन्दै १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए ।
हाफ म्याराथन व्यवस्थापन संयोजक निक्की नेम्बाङका अनुसार दुई घण्टा दश मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिय भए । उनले नगद ५८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा चौँथोदेखि दशौं स्थानसम्ममा आइपुग्ने धाकलाई नगद ८ हजार ५ सय ८६ रुपैयाँसहित प्रमाणपत्र प्रदान गारिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले जानकारी दिए ।
सिरिजङ्गा गाउँपालिकाको आयोजनामा वैशाख १३ गतेदेखि पालिकाको वडा नं ८ याम्फुदिनस्थित नयाँ झोरेनी क्षेत्रमा महोत्सव आयोजना भएको थियो । महोत्सवको तेस्रो तथा अन्तिम दिन सोमबार हाफ म्याराथन प्रतियोगिता भएको हो ।
त्यहाँ याक तथा चौंरी प्रर्दशनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, कञ्चनजंघा आधार शिविर सम्मको भ्रमणसहितका कार्यक्रम भएका थिए । कन्चनजङ्घा हिमाल आरोहण तथा भ्रमणकाका लागि आउने पर्यटकको सहजताका निम्ति पालिकाले निर्माण गरेको नयाँ पैदलमार्गमा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित: १५ वैशाख २०८२ १८:१४ सोमबार





