१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १७ देखि हुने

नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख १७ गतेदेखि हुने भएको छ ।  

यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।  

आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुने जानकारी दिइन् ।  

पुरुषमा आठ तथा महिलामा चार समूहले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा मधेस, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र एपिएफ क्लब सहभागी हुनेछन् । एपिएफ हक्कीमा नयाँ समूह रहेको आयोजकले जनाएको छ । पुरुषमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने महासचिव श्रेष्ठले बताइन् ।  

महिलातर्फ गण्डकी, मधेस र बागमती प्रदेश तथा नेपाल आर्मीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने समूहबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।  

 

विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु दुई हजारबाट पुरस्कृत गरिनेछ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख र महिलाका लागि रु २५ लाख खर्च हुने आयोजकले जनाएको छ । 

प्रकाशित: १४ वैशाख २०८२ १८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App