निर्णायक खेलमा वर्षा बाधक भएपछि आइसिसी यु–१९ विश्वकपमा नवौंपल्ट छनोट हुने नेपालको लक्ष्य असफल भएको छ।
पाँच राष्ट्र सहभागी यु–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानसँग शनिबार तय लिगको अन्तिम खेलमा वर्षा बाधक भएपछि नेपाल उपविजेतामा नै सीमित हुँदा विश्वकपमा छनोट हुन असफल रह्यो। समान सात अंक भए पनि नेट रनरेटका आधारमा नेपाल उपविजेतामा नै सीमित भएको हो। यससँगै नवौपल्ट आइसिसी यु–१९ विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन।
नेपाल सन् २०२२ पछि यु–१९ विश्वकपमा छनोट हुन सफल भएको हो। अफगानिस्तानले भने सन् २०२६ मा नामिबिया र जिम्बाब्वेमा हुने विश्वकपमा स्थान बनायो। मूलपानी क्रिकेट मैदान (तल्लो) मा प्रतिस्पर्धा गर्नुअघि नेपाल र अफगानिस्तान दुवै टोली अपराजित थिए। दुवैले यसअघि तीन खेलमा जित निकालेका थिए।
तर, नेट रनरेटमा अफगानिस्तान शीर्षमा थियो। यस्तो अवस्थामा विश्वकपमा छनोट हुन नेपालका लागि जितको विकल्प थिएन। नेपाली खेलाडीसँगै घरेलु समर्थक पनि खेल हुने प्रतीक्षामा थिए। तर, बिहान केही समय वर्षा हुँदा मैदानमा भिजेको थियो। करिब पाँच घण्टाको पर्खाइपछि सम्भव टस पनि नभएपछि म्याच अफिसियलले खेल रद्द गरे।
यो अवधिभर पनि समर्थकले नेपाली खेलाडीको साथ पनि दिए। तर, खेल हुन सकेन र घरेलु समर्थक निराश बने। त्यसपछि उनीहरू आइसिसी र एसिसीविरुद्ध नाराबाजी नै लगाए। पछि सुरक्षाकर्मीले उनीहरू मैदानबाट हटाए। गत २०२४ को यु–१९ विश्वकपमा नै नेपाली युवा टोलीले टेस्ट राष्ट्र अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो।

तर, यसपल्ट छनोटको प्रतिस्पर्धामा नभई अफगानिस्तानले नेट रनरेटमा नेपाली टोलीलाई पछि पार्दै त्यो हारको बदला लियो। यसै छनोटअगाडि पनि नेपाली टोलीसँगको शृंखलामा अफगानिस्तानले २–१ ले जित निकालेको थियो। यस क्रममा एक जित र एउटा खेलमा एक रनले मात्र हार बेहोरेको नेपाली टोलीको छनोटमा बदला लिने सपना भने पूरा हुन सकेन।
नेपालका प्रशिक्षक शक्ती गौचन र कप्तान नरेन भट्टले यसपल्ट अफगानिस्तानमाथि जित निकाल्ने आत्मबल रहे पनि वर्षा बाधक हुँदा पूरा हुन सकेको प्रतिक्रिया दिए। समान अंक भए पनि नेपाली टोली नेट रनरेटमा पछि पर्यो। अफगानिस्तानको ४.८१७० र नेपाल ३.५७६४ नेट रनरेटमा थियो। नेपाल सन् २०२२ पछि फेरि विश्वकपमा छनोट हुन असफल भएको हो।
पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानविरुद्ध जित निकाल्न सक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन्। प्रशिक्षक शक्तिले अफगानिस्तानविरुद्ध जित निकाल्न खेलाडीहरूमा बलियो आत्मबल रहे पनि वर्षा बाधक भएको बताएका हुन्। प्रशिक्षक गौचनले तीन महिना छनोटको तयारी गर्दा विश्वकप खेल्ने सपना बनाए पनि वर्षाले गर्दा सम्भव नभएको बताए।
खेल सम्भव नभएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक गौचनले भाग्यले पनि साथ नदिँदा धेरै दुःख लागे पनि यो अवस्थामा स्विकार्न तयार रहेको प्रतिक्रिया दिए। यद्यपि, शनिबार खेलमा नतिजा जेसुकै आउने भए पनि अफगानिस्तानसँगको शृंखलामा जसरी पुनरागमन गरेको थियो, त्यो हेर्दा हराउन सक्छौं भन्ने आत्मविश्वास टोलीमा रहेको पनि उनको भनाइ छ।
शृंखलाका तीन खेलमध्ये दुई खेलको नतिजामा आफूहरूले गरेको प्रदर्शनका आधारमा खेलाडीहरूमा पनि आत्मविश्वास बढेको अवस्था रहेको उनले उल्लेख गरेका छन्। यो ब्याचको यु–१९ टोलीका खेलाडी अधिकांश नयाँ रहे पनि क्षमतावान् खेलाडी रहेको उनको भनाइ छ। उनीहरूले आफूलाई पनि हरेक दिन सुधार गर्दै लगेको प्रशिक्षक गौचनले बताए।
अहिले विश्वकपमा छनोट हुन असफल भए पनि यो पुस्ताका खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने उनको विश्वास छ। उनले विश्वकपमा छनोट हुन नसकेपछि खेलाडीहरू धेरै रोएको र आफूलाई पनि चित्त दुखेको बताएका छन्। यद्यपि, आफ्नो करियरमा योभन्दा ठूलो दुःख र सुख आएको भन्दै खेलाडीलाई सम्झाएको प्रशिक्षक गौचनले उल्लेख गरेका छन्।
यो दुःख बाट अगाडि बढेर सुधार गर्न सके अझ राम्रो नतिजा आउने भन्दै खेलाडीलाई सम्झाएको उनले स्मरण गरेका छन्। नेपाली यु–१९ टोलीका कप्तान नरेन भट्टले पनि खेल नै खेल्न नपाइ छनोट हुन असफल हुँदा धेरै दुःख लागेको बताए।
टोलीमा धेरै राम्रो रहेको र प्रदर्शन पनि त्यहीअनुरूप भएकाले अफगानिस्तानविरुद्ध जित निकाल्न सक्छौं भन्ने आत्मविश्वास रहेको उनले उल्लेख गरेका छन्। तर, वर्षाका कारणले सम्भव नभएको उनले उल्लेख गरे। वर्षा आफूहरूको नियन्त्रणमा नरहेको भन्दै उनले आफूलाई सम्झाएका थिए। अफगानिस्तानका प्रशिक्षक रेइस अहमदजाईले नेपाली टोली पनि बलियो रहेको र उनीहरूले धेरै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकपमा छनोट हुन नसक्नु अभागी रहेको बताए।
आफ्नो टोलीविरुद्ध नेपालका खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन्। नेपाली टोली विश्वकप खेल्न योग्य रहेको पनि उनले प्रतिक्रिया दिए। आफू युद्धकै अवस्थाबाट हुर्किएको उल्लेख गर्दै यो सफलता आफ्नो देशका लागि मुस्कान हुने उनको विश्वास छ।
अफगानिस्तान सन् २०२६ को यु–१९ विश्वकप खेल्ने १६औं राष्ट्रमध्ये एक हो। पछिल्ला संस्करणका उत्कृष्ट १० टोली अस्ट्रेलिया, बाङ्लादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सीधै सन् २०२६ को विश्वकपमा स्थान बनाइसकेका छन्।
एक आयोजक र बाँकी महादेशीय छनोटबाट पाँच टोलीको टुङ्गो लाग्नेछ। त्यसमध्ये जिम्बाब्वेले पनि आयोजकका रूपमा विश्वकपमा स्थान पक्का गरेको थियो। अफ्रिकी क्षेत्रबाट तान्जानिया छनोट भएको छ।
अफगानिस्तान सन् २०२६ को यु–१९ विश्वकप खेल्ने १६औं राष्ट्रमध्ये एक हो। पछिल्ला संस्करणका उत्कृष्ट १० टोली अस्ट्रेलिया, बाङ्लादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सीधै सन् २०२६ को विश्वकपमा स्थान बनाइसकेका छन्। एक आयोजक र बाँकी महादेशीय छनोटबाट पाँच टोलीको टुङ्गो लाग्नेछ।
प्रकाशित: ७ वैशाख २०८२ ०७:२७ आइतबार