२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

लुम्बिनी कप महिला फुटबलः हिलोमा फुलेकी सुदूरपश्चिमकी आरती, जसलाई खेलाडी बन्न छेकेन गरिबीले

नेपालगन्जमा जारी लुम्बिनी कप महिला फुटबल खेल्न नेपालगन्ज पुगेकी सुदूरपश्चिम प्रदेशकी खेलाडी १४ वर्षीया आरती विक । तस्विरः गणेश विशु/नागरिक

खेल प्रशिक्षकहरु खेललाई आर्थिकरुपले खर्चालुका रुपमा अथ्र्याउँछन् । खेलाडीका लागि पौष्टिक आहार, पोसाक, खेलकुदका सामग्रीमा बढी खर्च हुन्छ । यसको मतलब, सामान्यतयाः खर्च गर्न सक्ने व्यक्ति मात्र खेल क्षेत्रमा अगाडि बढ्न सक्छन् । तर, कडा मिहेनत, लगनशीलता र खेलप्रतिको मोह हुने हो भने विपन्न समुदायका व्यक्ति पनि खेल क्षेत्रमा अगाडि बढ्न सक्छन् भन्ने उदाहरण दिएकी छिन्, शुक्रबारबाट नेपालगन्जमा सुरु भएको लुम्बिनी कप महिला फुटबलमा सहभागी सुदूरपश्चिम प्रदेशकी खेलाडी आरती विक (१४) ले । 

उनी सामान्य दलित परिवारमा जन्मिएकी सुदूरपश्चिमकी चेली हुन् । उनको गाउँमा फुटबल मैदानसमेत छैन । घरमा व्यावसायिक खेलाडीसमेत छैनन् । भनिन्छ नि, ‘हिलोमा कमल फुल्छ र सबलाई मोहित पार्छ ।’ आरती त्यही कमल हुन् हिलोमा फुलेर सुगन्धित बासना दिइरहेकी छिन् । अर्थात्, खेलकुदका लागि उर्बर नभएको क्षेत्रमा जन्मिएर खेलकुद क्षेत्रमा हुर्किरहेकी छिन् । उनी अझ ढकमक्क फुल्न समाज र सरकारले उचित संरक्षण गर्न जरुरी छ ।  

दुई वर्ष भयो उनले फुटबल खेल्न थालेको । घरेलु खेलहरु सकेसम्म उनले छुटाएकी छैनन् । उत्कृष्ट खेलाडीका रुपमा पनि उनले सम्मान पाएकी छिन् । आधारभूत तह कक्षा आठ उत्तीर्ण गरेकी उनी फुटबल सिक्न दैनिक साइकलमा करिब ४५ देखि एक घण्टा हिँड्नु पर्छ । त्यति दुरी पार गरेपछि मात्र उनले दैनिक फुटबल खेल्न पाउँछिन् । जसबाट आरती प्रशिक्षत हुन्छिन् । त्यो पनि कञ्चनपुरबाट कैलालीको धनगढी पुगेर । उनको गाउँमा खेल मैदान नहुँदा धनगढी पुग्नु पर्ने बाध्यता छ । खेलाडी बन्ने सुन्दर सपनाले उनलाई पुनरबासबाट दैनिक धनगढी डोर्‍याउँछ ।

बुवा गोविन्द बिरामी भएर थलिएका छन् । घरमा आम्दानीको स्रोत सानो लगानीमा खोलिएको खुद्रा पसल छ । झन्डै ९ कट्ठा जमिनमध्ये अहिले ४-५ कट्ठा मात्र बचेको छ । अरु जग्गा गोविन्दको उपचारका लागि बिक्री भयो । तर, अझै सञ्चोे भएको छैन । उनी प्यारालाइसिसबाट ग्रसित छन् । आरति कान्छो सन्तान हुन् । उनका अगाडि एक दिदी र दाई छन् । दाईको विवाह भइसकेको छ । उनका दाईले सामान्य फुटबल खेल्थ्ये । फुटबल खेल्दाखेल्दै राति आउँथे । राति आउँदा घरमा सामान्य विवाद हुन्थ्यो । हुनुको कारण, नै गरिबी थियो । आरतिका दाईले घरको समस्याले फुटबल खेल्न छाडे । घरपरिवार हेर्न सुरु गरे । दाईले फुटबल छाड्दा आरतिलाई यससम्बन्धी सामान्य ज्ञानसमेत थाहा थिएन । अनि यहीबाट सुरु भयो उनको फुटबल खेलाडी बन्ने सपना । फुटबल खेलाडी बन्ने दाइको सपना पूरा गर्नलाई उनले पाइला उचालिन् र अहिलेसम्म तल्लो ‘ग्राउण्ड’ मा सफलता प्राप्त गरेकी छिन् ।

यसभन्दा अघि पनि आरतीले क्षेत्रीय खेलकुद खेलिसकेकी छिन् । संयोगवस् त्यतिबेला क्षेत्रीय खेल खेलेका महिला खेलाडी अहिले यस खेलकुदमा भने छनोट हुन सकेनन् । ७२ जना खेलाडीबाट आरती छनोटमा परेकी एक खेलाडी हुन् । यसलाई पनि उनले एउटा सफलताको रुपमा लिएकी छिन् । ‘मिहेनतभन्दा ठूलो अरु मलाई केही लाग्दैन,’ उनले भनिन्, ‘पैसा नहुँदा मैले खेलकुद छाडेको भए यो सम्भव थिएन । पैसालाई छाडेर मैले नियमित मिहेनत गरे र आज यो स्थानमा छुँ, जुन मेरो सपनाको गोरेढो हो ।’ पैसा नहुँदा उनको खेल जीवनमा कयौं समस्या नआएका भने होइनन् । तर, उनले ति समस्यासँग कहिले हार मानिन् र अगाडि बढिन् । फुटबल क्षेत्रमै एउटा राम्रो खेलाडी भएर नाम राख्ने उनको सपना छ ।

शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लवसँग सुदूरपश्चिम भिड्यो । तर, उनी मैदान उत्रिन भने पाइनिन् । उनी वैकल्पिक खेलाडी थिइन् । उनलाई प्रशिक्षकले मौका दिएनन् । तर, जर्सीमा खेलाडीकै रुपमा मैदानभित्र बस्न पाउनु पनि एउटा सफलता भएको उनी बताउँछिन् ।

‘पहिला त्यति समाजले राम्रोसँग हेर्थेन,’ उनी भन्छिन्, ‘अहिले त, गाउँसमाजले मलाई थप हौसला दिन्छ । त्यही हौसलाले मलाई खेलमा अगाडि बढ्न प्रेरणा मिलिरहेको छ ।’ उनीमा जिन्दगीको लक्ष्य चुम्न एउटा दृढ इच्छा देखिन्छ । जो, प्राप्त गर्न उनीलाई सबैको साथ र सहयोग आवश्यक रहेको उनका खेलाडी साथीहरु बताउँछन् । आरतिको मिहेनतले नै अहिले यस खेलकुदमा छनोट भएको सुदूरपश्चिमका प्रशिक्षक यज्ञप्रसाद श्रेष्ठले बताए । ‘खेलाडी बन्न पैसा आवश्यक त पर्छ,’ उनले भने, ‘तर, इमान्दारीतापूर्वक कडा मिहेनत गर्ने हो भने पैसालाई पनि मिहेनत र लगनशीलताले जित्दो रहेछ ।’ उमेर समूहको राष्ट्रिय खेलाडीका रुपमा आरतिलाई देख्न सकिने सम्भावना देख्छन् प्रशिक्षक श्रेष्ठ ।

मिहेनतका लागि पैसा फिक्का लाग्छ आरतिलाई । रहर पूरा गर्न पैसाको बढी जरुरी भए पनि लक्ष्य प्राप्तिका लागि मिहेनत पहिलो आवश्यकता भएको उनको बुझाइ छ । ‘मेरो लक्ष्य पूरा गर्न बाँकी छ,’ उनले भनिन्, ‘लक्ष्य प्राप्तिका लागि दौडी रहेको छुँ ।’ खेलाडी बन्ने उनको सपनाका अगाडि पर्खाल बनेर उभिएको छ, गरिबीको पहाड । यसलाई छिचोल्न आरतिलाई हौसला मात्र होइन, तपाईंको एउटा सहयोगको पनि आवश्यक छ ।

प्रकाशित: ६ वैशाख २०८२ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App