कञ्चनजंघा हीरक महोत्सवको अवसरमा हुने अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । महोत्सवको मुख्य आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार बैशाख ३ गते हुने पहिलो खेलमा समूह‘क’मा रहेको आयोजक फक्ताङलुङ गाउँपालिकाको भिडन्त फुङलिङ नगरपालिकासँग हुने भएको छ ।
बैशाख ३ गते नै हुने दोस्रो खेलमा समूह ‘ख’मा रहेको मिक्वाखोला गाउँपालिकाले सोही समूहको सिरिजङ्गा गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । बैशाख ४ गते तेस्रो खेलमा समूह ‘क’मा रहेको सिदिङ्वा गाउँपालिकाले सोही समूहमा रहेको आमन्त्रित पाँचथरको याङ्वरक गाउँपालिकासँग खेल खेल्ने छ । सोही दिन हुने चौथो खेलमा समूह‘ख’मा रहेको पाथीभरा याङ्वरक गाउँपालिकाले मेरिङदेन गाउँपालिकाको सामना गर्ने छ । समूह चरणका खेल सकिएपछि सेमिफाइनल र फाइनल चरणका खेल हुने भएका छन् ।
कञ्चनजंघा आरोहणको ७० औं बर्ष पूरा भएको अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को मुख्य संयोजन, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय र समृद्धि पहाड परियोजनाको सहभागिता तथा साझेदारीमा बैशाख ५–७ गते सम्म फक्ताङलुङ गाउँपालिकाको लेलेपमा हीरक महोत्सव हुँदैछ । अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता महोत्सव अन्तरगतकै एक कार्यक्रम भएको परिषद्का सदस्य तथा कञ्चनजंघा हीरक महोत्सव खेल समिति संयोजक सन्तोष लिम्बूले जानकारी दिए ।
भलिबल प्रतियोगितामा ताप्लेजुङका आठराई त्रिवेणी र मैवाखोला बाहेक ७ तथा पाँचथरको याङवरक गाउँपालिका सहित ८ टिमको सहभागिता रहने छ । नकआउटका आधारमा खेल खेलाइने समेत लिम्बूले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ तथा उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याचलाई नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको लिम्बूले जानकारी दिए ।
उनका अनुसार विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेण्डर,उत्कृष्ट सेटर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर र उत्कृष्ट क्विकरलाई जनही नगद ३ हजार ५ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र दिइने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख ९ हजार रुपैयाँको लागत अनुमान गरिएको समेत खेल संयोजक लिम्बूले जानकारी दिए ।
प्रकाशित: २ वैशाख २०८२ १३:१५ मंगलबार