टुसाल युथ क्लब र अन्नपूर्ण रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कमल विश्वकर्माको गोल निर्णायक भएपछि टुसालले सरस्वती युथ क्लबमाथि १–० को कठिन जित निकालेको हो। दिनको दोस्रो खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले नयाँ बस्ती युवा क्लबलाई २–१ ले हरायो। जितसँगै टुसालले तीन खेलबाट पाँच अंक जोडेको छ।
पहिलो पराजय बेहोरेको सरस्वतीको भने समान खेलबाट ६ अंक छ। कमलले गरेको एक मात्र गोल टुसाललाई जित दिलाउन पर्याप्त बन्यो। उनले पहिलो मिनेटमै गोल गरेका हुन्। देवराज तामाङको क्रसमा कमलले गोल गरेका थिए। त्यो गोलसँगै टुसालले पहिलो हाफमा १–० को अग्रता लियो। तर, नयाँ बस्तीले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन र हार सामना गर्यो।
एन्फा कम्प्लेक्समा नै आइतबार अन्नपूर्ण आरसिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकाल्यो। नयाँ बस्तीको चुनौती २–१ ले समाप्त पार्दै आरसिटीले पहिलो अंक पायो। जितसँगै आरसिटीले तीन खेलबाट तीन अंक जोडेको छ। हारपछि नयाँ बस्तीको पनि समान खेलबाट तीन अंक नै छ। आरसिटीको जितमा प्रज्वल गुरुङ र निखिल तामाङले गोल गरे।
नयाँ बस्तीका पूर्णबहादुर गुरुङले गोल फर्काए। खेलको १०औं मिनेटमै प्रज्वलको गोलमार्फत आरसिटीले अग्रता लिएको थियो। लेफ्ट साइडबाट निखिल तामाङले एक डिफेन्सलाई छक्याउँदै दिएको बललाई प्रज्वलले वन टचमार्फत जाली चुमाएका हुन्। तर, २१औं मिनेटमा नै नयाँ बस्तीले गोल फर्कायो। पूर्णबहादुरले करिब २५ यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि नयाँ बस्तीले खेलमा फर्कने संकेत गरेको हो।
उनले दोस्रो बारको टप कर्नर च्यापेर हानेको सट आरसिटीका गोलकिपर सोनाम वाइबाले पत्तै पाएनन्। त्यो गोलसँगै पहिलो हाफमा १–१ को बराबरी भयो। तर, दोस्रो हाफमा आरसिटीले अर्को गोल गर्यो। निखिलले ६४औं मिनेटमा गोल गर्दै आरसिटीलाई २–१ को अग्रता दिलाए। काउन्टर अट्याकमा आरसिटीले यो गोल गरेको हो। कृष्णबहादुर आलेले करिब आफ्नै पेनाल्टी बक्सनजिकबाट गरेको लामो पास नियन्त्रणमा लिँदै निखिलले सुन्दर गोल गरेका हुन्। त्यसपछि बाँकी समयमा नयाँ बस्तीले गोल फर्काउन सकेन र आरसिटीले पहिलो जित निकाल्यो।
प्रकाशित: १८ चैत्र २०८१ ०८:०२ सोमबार