पोखरामा चैत चौथो साता 'केपी ओली कप टि२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता’ हुने भएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिता यही चैत २३ देखि ३० गतेसम्म हुने मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। अघिल्लो वर्षदेखि सुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो।
प्रतियोगिताको तयारी सुरु भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए। प्रतियोगितामा १६ टिम सहभागी हुने उनले बताए। '२९ भन्दा बढी टिमले सहभागिताका लागि पत्र पठाएका छन् तर हामी छनौट गरेर १६ टिमलाई मात्रै सहभागी गराउँछौं।’ टिमको टुंगो भने केही दिनमा लाग्ने उनको भनाइ छ।
प्रतियोगिता लिग कम नक आउटका आधारमा हुने अध्यक्ष आचार्यले जानकारी दिए।
प्रतियोगिताको उद्देश्य पोखराको क्रिकेटको विकास र पर्यटनको राजधानी पोखराको पर्यटन प्रवर्द्धन गर्नु रहेको अध्यक्ष आचार्यले बताए। 'क्रिकेटको विकाससँगै खेल पर्यटनको प्रवर्द्धन गर्नु हाम्रो उद्देश्य हो,' उनले भने। साथै खेलाडी उत्पादनमा पनि प्रतियोगिताले सघाउने उनको दाबी छ।
प्रतियोगिता पोखराको क्रिकेट विकास र खेल पर्यटन प्रवर्द्धनका लागि कोशेढुंगा सावित हुने एकेडेमीका उपाध्यक्ष राजेश गुरूङ र सचिव कृष्ण तिमिल्सनाले विश्वास व्यक्त गरे।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद ५ लाखसहित नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ। त्यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिजले नगद ३० हजारसहित ट्रफी र मेडल तथा बेष्ट बलर, बेष्ट व्याटरले जनही नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने उनले बताए।
उनका अनुसार हरेक खेलमा प्लेयर अफ दि म्याच घोषणा गरिनेछ, जसलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने छ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।
प्रकाशित: १६ चैत्र २०८१ १६:२२ शनिबार