१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:४६ पूर्वाह्न
खेल

सुखद नतिजाको अपेक्षामा चितवन र पोखरा

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोली एफसी चितवन र पोखरा थन्डर्सले आफ्नो तयारीमा तीव्रता दिइरहेका छन्। 

आगामी शनिबार दशरथ रंगशालामा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीले प्रतिस्पर्धा गरेसँगै तेस्रो संस्करणको खेल सुरु हुनेछ। तेस्रो संस्करणमा कुल सात टोलीले प्रतिस्पर्धा गर्दै छन्। तीमध्ये चितवन र पोखराले आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन्।  

पछिल्ला दुई संस्करणको नतिजा हेर्ने हो भने पोखराले राम्रै प्रदर्शन गरेको थियो। तर, चितवनको भने दुवै संस्करण सुखद हुन सकेको थिएन। पहिलो संस्करणमा पोखरा र चितवन दुवै प्लेअफमा पुग्न असफल टोली हुन्। तर, दोस्रो संस्करणमा पोखरा लिगको अंकतालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो। प्लेअफमा भने पोखराले सुखद प्रदर्शन गर्न सकेन। चितवनले भने लगातार दोस्रो संस्करणमा पनि खराब प्रदर्शन जारी राख्यो। ९ टोली सहभागी लिगको सातौं स्थानमा रहेर यात्रा टुङ्ग्याएको थियो।  

यसपल्ट भने पोखरासँगै चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने लक्ष्य राखेको छ। पोखरा थन्डर्सका सिनियर खेलाडी नवयुग श्रेष्ठले यसपल्ट युवा र राम्रा विदेशी खेलाडीसहित सन्तुलित टोली बनेकाले सुखद नतिजा आउने अपेक्षा गरेका छन्। पोखराले १२ दिनदेखि तयारी थालेको हो। यद्यपि, केही विदेशी खेलाडी अझै आउन बाँकी छन्। क्षमतावान् युवा र विदेशी खेलाडी टोलीमा छन्। धेरै जोस भएका युवा खेलाडी रहेको र उनीहरूलाई गाइड गरेर राम्रो नतिजा ल्याउने आशामा नवयुग छन्।  

सबै टोली राम्रो रहेको र खेल प्रतिस्पर्धात्मक हुने भएकाले सतर्क भएर खेल्ने उनी बताउँछन्। अहिले एकअर्कालाई बुझ्ने गरी टिम सेट भइरहेको र प्रतिस्पर्धाको दिनसम्म टोली राम्रो आकारमा रहने उनको विश्वास छ। पोखरा र एफसी चितवनको पहिलो खेल नै आगामी सोमबार छ। यी दुवैले एकआपसमा प्रतिस्पर्धा गर्दै तेस्रो संस्करणको सुरुआत गर्दै छन्।  

पोखरा थन्डर्सको मार्की युवा स्टार समीर तामाङ हुन्। समीरले आफ्नो टोलीले मैत्रीपूर्ण खेल खेलेको र त्यस क्रममा केही पक्षमा सुधार गरिएको बताए। टिममा राम्रा युवा र विदेशी खेलाडी रहेकाले सुखद प्रदर्शन आउने उनको अपेक्षा छ। एफसी चितवनले पछिल्ला दुई सिजन राम्रो नतिजा नआए पनि यसपल्ट च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरिरहेको छ। यसपल्ट सन्तुलित टोली बनेको अपेक्षा चितवनको छ।  

चितवनका प्रशिक्षक जय गुरुङले पछिल्लो १० दिनदेखि प्रशिक्षण सुरु गरेको उल्लेख गर्दै अहिले ट्याक्टिकल र टेक्निकल प्रशिक्षण सुरु भइरहेको बताए। प्रिसिजनका केही खेलहरू पनि खेलेको उनले उल्लेख गरे। पछिल्ला सिजनहरू राम्रो हुन नसकेकाले यसपल्ट सुखद नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने जयले बताएका छन्। अनुभवी स्वदेशी खेलाडी र विदेशी खेलाडी रहेकाले बलियो टोली बनेको उनको विश्वास छ।  

चितवनका अर्का खेलाडी मिलन राईले पनि प्रशिक्षण धेरै राम्रो भइरहेको उल्लेख गरे। टोलीका खेलाडीबीच राम्रो तालमेल मिलाउने पक्षमा पनि काम भएको उनको भनाइ छ। विदेशी र घरेलु खेलाडी पनि राम्रा रहेकाले सुखद नतिजाको अपेक्षामा छन् उनी। चितवनका प्रशिक्षक नवीन न्यौपाने हुन्। 

उनी नेपालका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्। घरेलु फुटबलमा नवीन सफल प्रशिक्षक मानिन्छन्। उनको प्रशिक्षणमा त्रिभुवन आर्मी क्लबको फुटबल शैलीमा धेरै परिवर्तन आएको थियो। त्यसैले एनएसएलको तेस्रो संस्करणमा एफसी चितवनले सुखद नतिजा ल्याउने अपेक्षा गरिएको छ।  

यस संस्करणको एनएसएलमा तीन नेपाली प्रशिक्षकमध्ये एक हुन्, सुमन श्रेष्ठ। उनले पोखरा थन्डर्सको प्रशिक्षण समालिरहेका छन्। युवा स्टारले भरिएको पोखराले सुमनको प्रशिक्षणमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ। पोखरा थन्डर्समा पोर्चुगलको घरेलु फुटबलमा तेस्रो डिभिजन क्लबबाट खेल्दै आएका निसान हमाल पनि छन्।  

यस संस्करणको एनएसएलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दै छन्। वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन्। यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदै छ।

प्रकाशित: १४ चैत्र २०८१ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App