युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी कर्णाली प्रदेश सरकारले तयार गरेको भौतिक पूर्वाधार उत्कृष्ट रहेको बताएका छन्।
आगामी वर्षको जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद हुने तय गरिएको छ। सोही खेलकुदका लागि कर्णााली सरकारले पूर्वाधार निर्माणमा सक्रियता देखाएको मन्त्री चौधरीले उल्लेख गरेका हुन्।
मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सर्वाजनिक गरिएको थियो। उक्त कार्यक्रममा मंगलबार खेलकुदमन्त्री चौधरीले आफ्नो प्रदेशको खेलकुद आयोजना गर्न कर्णालीले गरेको पूर्वाधार निर्माणप्रति प्रसंशा गरेका हुन्। मन्त्री चौधरीले राष्ट्रिय खेल संघलाई खेलाडी र खेलको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भव्य बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको थियो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको डेडिकेटेड वेभसाइट सार्वजनिक गरेका थिए। सदस्यसचिव घिसिङले २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद अहिले २२औं संस्करण हुनुपर्ने भए पनि विभिन्न कारण हुन नसकेको र आफ्नो पालामा पहिल्यै बजेट व्यवस्थापन गरेर त्यो अवस्था दोहोरिन नदिने काम गरेको बताए।
उनले राष्ट्रिय खेलकुद आयोजना गर्न खेल संघको काँधमा पनि जिम्मेवारी रहेको धारणा राखे। राष्ट्रिय खेलकुदमा सहभागी हुन खेलाडी उत्साहित रहेकाले उनीहरू खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला सबै एक ढिक्का हुनुपर्नेमा जोड दिए। दुई वर्षभित्र गर्नुपर्ने राष्ट्रिय खेलकुद केही महिना पर सरेको अवस्थामा सरोकार पक्षहरूले अब निर्धारित समयमा गर्न भूमिका निर्बाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। सदस्यसचिव घिसिङले देशलाई धेरैभन्दा धेरै पदक दिलाउन राष्ट्रिय खेलकुदको आयोजना विशेष रहेको विश्वास व्यक्त गरे।
राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो। राष्ट्रिय खेलकुदको लोगो र मस्कटलाई प्रयोग गरी तयार गरिएको एनिमेटेड भिडियो पनि प्रदर्शन भएको थियो। लोगोमा कर्णाली नदी, नेपालको झन्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ। कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र (रेड पान्डा) लाई मस्कटका रूपमा प्रयोग गरिएको छ। लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन्।
प्रकाशित: ६ चैत्र २०८१ ०८:१३ बुधबार





