२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:२२ अपराह्न
खेल

कटारी गोल्डकप: च्याम्पियन बन्यो च्याम्पियन ब्जाईज

क्याप्शन

कटारीमा सम्पन्न ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता ०८१’ को उपाधि च्याम्पियन ब्वाईज काठमाडौंले चुमेको छ।

शनिबार सम्पन्न फाइनलमा सहलेश यूथ क्लब सिराहालाई २–१ को अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि आफ्नो पक्षमा पारेको हो।

मध्यान्तरसम्म गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ सुरु भएको केही क्षणमै सहलेशका कुलदीप कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

तर, त्यसको केही समयमै च्याम्पियनका सन्तोष न्यौपानेले बराबरी गोल फर्काए। खेलको अन्तिम समयमा हेमन लिम्बुले निर्णायक गोल गरेपछि काठमाडौंले उपाधि उचाल्न सफल भयो।

लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए भने उनलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

विजेता च्याम्पियन ब्वाईजले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता सहलेश यूथ क्लबले १ लाख ५१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्‍यो।

शनिबार साँझ आयोजित समापन समारोहमा कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, नगर खेलकुद विकास समिति अध्यक्ष दीपक राईलगायतले विजेता टोली र खेलाडीलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे।

विधागत पुरस्कारतर्फ ‘उदयमान खेलाडी’ को उपाधि आयोजक कटारी ११ का ऋतिक तामाङले प्राप्त गरे। ‘उत्कृष्ट डिफेन्डर’ च्याम्पियन ब्वाईजका धिरेन क्षेत्री, ‘उत्कृष्ट गोलरक्षक’ चरी लिम्बु, ‘सर्वाधिक गोलकर्ता’ (५ गोल) सौर्य राउत तथा ‘उत्कृष्ट खेलाडी’ सहलेश यूथ क्लबका शिशिर लेखी घोषित भए। विधागत विजेताहरुलाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

कटारी बजारस्थित टाइगर खेलमैदानमा गत फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा भूटानको सामत्से फुटबल क्लबसहित विभिन्न ८ टोली सहभागी थिए। कटारी नगरपालिकाको बजेट प्रायोजनमा नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो।

प्रकाशित: १७ फाल्गुन २०८१ २१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App