ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ स्थित तेल्लोक स्पोर्टिङले चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालनका क्रममा क्लबमा करिब तीन लाख रुपैयाँ बचत गर्न सफल भएको छ।
चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सम्पन्न भएपछि क्लबले शनिबार सार्वजनिक सुनुवाइ गर्दै उक्त कार्यक्रममार्फत क्लबमा २ लाख ८९ हजार ७ सय १५ रुपैयाँ मौज्दात रहेको विवरण सार्वजनिक गरेको छ। चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालन तथा व्यवस्थापन समितिका आर्थिक संयोजक दिनेश भट्टराईका अनुसार १ लाख २५ हजार रुपैयाँ बोल कवोलको रकम क्लबको खातामा जम्मा हुन बाँकी छ। सो समेत प्राप्त भएमा क्लबको खातामा ४ लाख १४ हजार ७ सय १५ रुपैयाँ बचत हुने छ।
भट्टराईका अनुसार चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा ३१ लख १५ हजार ७ सय ६० रुपैयाँ आम्दानी भएकोमा २८ लाख २६ हजार ४५ रुपैयाँ खर्च भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार (गणेश) मावो र क्लबका अध्यक्ष अर्जुन भट्टराईको उपस्थितिमा आर्थिक संयोजक भट्टराईले चौथो सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला २०८१ को आयव्यय विवरण प्रस्तुत गरेका हुन्।
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला गत मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। तेल्लोक स्पोर्टिङ क्लबले गोल्डकप तथा मेला सम्पन्न भएपछि सरोकारवालाको राय, सुझाव तथा गुनासो ग्रहण गर्न सार्वजनिक सुनुवाइ समेत गर्ने परम्परालाई निरन्तरता दिएको छ। प्रतियोगिता सम्पन्न भएपछि प्राय: आयव्यय विवरण मात्रै सार्वजनिक हुने गरेका छन्। तेल्लोक स्पोर्टिङ क्लबले भने सार्वजनिक सुनुवाइ नै सञ्चालन गरेको छ।
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकपमा भारतको एकसहित नेपालका प्रतिष्ठित क्लब समेतका गरी ८ टिमको सहभागिता थियो। प्रतियोगितामा विजेता टिमलाई नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण-पत्र तथा उपविजेता टिमलाई १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो। गोल्ड कपमा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको थियो।
विधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच' प्रदान गरिएको थियो। त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४-४ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो।
प्रकाशित: १७ फाल्गुन २०८१ १४:०६ शनिबार





