सुनसरीको एनएसएफ क्लब धरानलाई पराजित गर्दै च्याम्पिएन ब्वाईज क्लब काठमाडौँ कटारीमा जारी ‘पाँचौ मेयर गोल्डकप प्रतियोगिता ०८१’को फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा धरानलाई ४–२ गोलले पराजित गर्दै च्याम्पिएन ब्जाईज फाईनलमा प्रवेश गर्न सफल भएको हो ।
कटारीस्थित टाईगर खेल मैदानमा जारी प्रतियोगितामा च्याम्पिएनका लागि सुरज राउत एक्लैले ३ गोल गरे भने अर्का खेलाडी सन्तोष न्यौपानेले १ गोल थपे ।
खेल सुरु भएको १३ औँ मिनटमै धरानका तपन कार्कीले पहिलो गोल गरेर समूहलाई अघि बढाएका थिए । तर, ३० औँ मिनटमा च्याम्पिएनका लागि राउतले जवाफी गोल फर्काएर खेल बराबरी बनाए ।
मध्यान्तरअघिकै खेलमा ३४ औँ मिनटमा राउतको प्रहारले जाली चुम्दै च्याम्पिएनका लागि दोहोरो गोल बनाए पनि ४५ औ मिनटमा धरानका कार्कीले अर्को गोल थप्दै खेललाई फेरि बराबरी बनाए ।
मध्यान्तरपछि ७७ औँ मिनटमा सन्तोष न्यौपानेले १ गोल थप्दै च्याम्पिएनका लागि ३ गोल बनाए भने ८४ औँ मिनटमा पुनः राउतले नै चौथो गोल गर्दै पाहुना टिम समत्से भुटानलाई हराएको च्याम्पिएनलाई फाईनलसम्म पु¥याएका हुन् । यो हारले उद्घाटन खेलमा घरेलु टिम कटारी ११ लाई पराजित गर्दै सेमिफाईनल पुगेको धरानका लागि मैदान बिरानो भएको छ ।
आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईका अनुसार बिहीबार हुने अन्तिम सेमिफाईनलमा सिराहाको सहलेश फुटबल क्लब र वीरगञ्जको युनाईटेड फुटबल क्लबबीच भिडन्त हुनेछ । सहलेश सलार्हीको बागमती क्लबलाई हराएर र युनाईटेड सिन्धुलीको जेएन क्लबलाई हराउँदै सेमिफाईनलमा पुगेका हुन् ।
कटारी नगरपालिकाको प्रायोजन र नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल १७ गते शनिबार हुनेछ । विजेता टिमलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका उपविजेताले १ लाख ५० हजार नगद तथा विधागत खेलाडीलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताएका छन् ।
प्रकाशित: १४ फाल्गुन २०८१ १९:३६ बुधबार





