ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनस्थित बिसिएस मेमोरियल युवा क्लबले छैटौँ सावादिन च्यालेञ्ज कप २०८१ सञ्चालन गर्ने भएको छ ।
फागुन २६ गतेबाट हुने च्यालेञ्ज कप अन्तरगत पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ भने दौड प्रतियोगिता समेत सञ्चालन गर्ने प्रतियोगिता संयोजक रुपहाङ लिम्बूले जानकारी दिए । उनका अनुसार पुरुष फुटबल प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ६० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलकर्ता र सर्वाधिक गोलकर्तालाई विधागत पुरस्कार प्रदान गरिने प्रतियोगिता सहसंयोजक विवेक लिम्बूले जानकारी दिए । यस्तै रविकला मावि सावादिन देखि शहीद पार्क हुँदै सावादिन खेल मैदान सम्म पुग्नेगरीको दौड प्रतियोगिता समेत सञ्चालन हुने भएको छ ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार,द्वितीय हुनेलाई ६ हजार,तृतीय हुनेलाई ३ हजार,चौथो हुनेलाई नगद २ हजार र पाँचौँ हुनेलाई नगद १ हजार रुपैयाँ पुरस्कार दिइने छ । छैटौँ देखि दसौँ स्थान सम्मका दौडमा सहभागीहरूलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित: १४ फाल्गुन २०८१ १३:०७ बुधबार





