फर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० को गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गर्यो।
नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले एक मात्र गोल गर्दै टिमलाई अग्रता दिलाइन्। उनले सविता रानाको क्रसलाई उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरिन्।
पहिलो हाफभरि नेपालले केही थप अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रह्यो। डिफेन्सको सशक्त प्रदर्शनका कारण नेपालले अग्रता जोगाउन सफल भयो।
नेपालले सन् २०१८ मा किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले हराएको थियो। यस पटकको खेल तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक देखिए पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्यो
चार टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तुलनात्मक रूपमा म्यानमार र लेबननलाई बलियो टिम मानिएको छ। जसका कारण नेपाललाई फाइनल यात्रा सुनिश्चित गर्न आगामी खेलहरूमा थप उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ।
नेपालका डिफेन्स र गोलकिपरले अन्तिम समयसम्म किर्गिस्तानलाई गोल गर्न नदिई उत्कृष्ट खेल प्रदर्शन गरे। विपक्षी टोलीले दोस्रो हाफमा केहि आक्रमण प्रदर्शन गरे पनि नेपालका खेलाडीहरूले सफल बचाउ गरे।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा म्यानमार र लेबनन आमनेसामने भएका थिए।
प्रकाशित: ५ फाल्गुन २०८१ १९:५५ सोमबार





