त्रिभुवन आर्मी क्लबका धावक श्रीकास राई पाँचौँ लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको च्याम्पियन बनेका छन् ।
प्रतियोगिताको खुला स्पर्धामा साढे २४ किलोमिटर लामो दुरी दुई घण्टा आठ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उनी विजेता बन्न सफल भएका हुन् । उनले २ सय २५ प्रतिस्पर्धी धावकलाई पछाडि पारेका थिए । विजेता राईले एक लाख १० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरे । यसअघि दोस्रो संस्करणमा उनी उपविजेता बनेका थिए ।
आर्मीकै धावक होमलाल श्रेष्ठ दोस्रो भए । दुई घण्टा १० मिनेट ३८ सेकेन्डमा दौड पुरा गरेका उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार हात पारे । आर्मीकै करण राउलले तेस्रो स्थानमा चित्त बुझाए । उनले दुई घण्टा १३ मिनेटमा दौड पूरा गरेका थिए । राईले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
महिला स्पर्धातर्फ त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकाया च्याम्पियन बनिन् । दुई घण्टा ४० मिनेट ११ सेकेन्डमा दौड पुरा गरेकी उनले नगद ७० हजार रुपैयाँ र ट्रफी पुरस्कार जितिन् । जुम्लाकी भगवती खत्रीले दुई घण्टा ५१ मिनेटमा दौड पुरा गरेर उपविजेता बन्दै नगद ५० हजार रुपैयाँ पाइन् । महिला तर्फकी साबिक विजेता खोटाङकी प्रिया राईले तेस्रो स्थानमा चित्त बुझाइन् । उनले ३० हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोटेकोसी गाउँपालिकातर्फ कुमार तामाङ, मोहन भण्डारी र फुर्पा तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः ३०, २० र १५ हजार रुपैँया पुरस्कार हात पारे । नेपाली सेनाको चौतारास्थित इन्द्रध्वज गणको आयोजना तथा व्यवस्थापन र भोटेकोसी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको थियो ।
लार्चास्थित सुख्खा बन्दरगाहबाट सुरु भएको दौड नयाँ पुल, पाङलाङ, लिस्तिकोट हुँदै गुम्बाको २ हजार ४ सय २५ मिटर उचाइबाट झर्दै ऐतिहासिक नेपाल–तिब्बत युद्ध किल्ला दुगुनागढीमा पुगेर सम्पन्न भएको थियो । नेपाली फौजले बि.सं. १९१२ सालमा यो किल्ला खडा गरेको थियो । यही किल्लाबाट लडाई लडेर नेपाली फौजले भोट (तिब्बत) माथि विजय प्राप्त गरेको थियो ।
ऐतिहासिक तथा सामरिक युद्ध किल्लाको संरक्षण गर्दै साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक इन्द्रध्वज गणका गणपति प्रमुख सेनानी धर्मेन्द्र भण्डारीले बताए ।
किल्ला रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले यस्ता प्रतियोगिता बर्सेनी गर्ने बताउँदै किल्ला संरक्षण र प्रचारमा स्थानीय तहले काम गरिरहेको जानकारी दिए ।
नेपाली सेनाको उपत्यका पृतनाका पृतनापति उपरथि विष्णु राउत, सेनाको नं. २६ बाहिनीका बाहिनीपति सहायक रथी अशोक गुरुङ, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले विजयी धावकलाई ट्रफी मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित: २७ माघ २०८१ १७:५४ आइतबार





