पोखरामा आहा ! रारा पोखरा गोल्डकप सुरु भएको छ। सहरा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखि आहा ! रारा पोखरा गोल्डकपको २४ औं शृङ्खला सुरु भएको हो।
प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसले आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो। जितसँगै पुलिस आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
उद्घाटन खेलको निर्णायक गोल पुलिसका उज्ज्वल राईले गरे। उनले खेलको ३६ औं मिनेटमा गोल गर्दै पुलिसलाई विजयी बनाए। उनले हानेको कर्नर किक सिधै गोलमा परिणत भएको थियो।
सेकेन्ड बार च्यापेर हानेको बलले सिधै जाली चुमेर त्यही गोल नै निर्णायक बनेपछि आयोजक सहारा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो हाफको सुरुवाती समय सहाराले पुलिसलाई दबाबमा राखेको थियो। तर ३६ औं मिनेटमा गोल खाएपछि भने लय गुमाउन पुग्दा हारबाट जोगिन सकेन।
मंगलबारको विजेता पुलिसले अब माघ २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत बुधबार डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र मच्छिन्द्र क्लब आमनेसामने हुनेछन्।
मंगलबारदेखि सुरु भई फागुन ३ गतेसम्म हुने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन्।
सनिशलाई उत्कृष्ट खेलाडी सम्मान
सहारा क्लब पोखराले नेपाली राष्ट्रिय टिम तथा मच्छिन्द्र क्लबका डिफेन्डर सनिश श्रेष्ठलाई सम्मान गरेको छ। सहारा क्लबले २४औं आहा रारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा सनिशलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित उत्कृष्ट वर्ष खेलाडी सम्मानबाट सम्मान गरेको हो।
सहाराले हरेक वर्ष नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएकामध्ये एक जनालाई राष्ट्रिय टोलीको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटरसहित विभिन्न विधागत पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए।
प्रकाशित: २२ माघ २०८१ १७:१३ मंगलबार