२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

जनकपुरले जित्यो कबड्डी लिग

जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा जुन प्रदर्शन गरेको थियो त्यसले नै उपाधि दाबेदार बनाइदिइसकेको थियो। तर, औपचारिक रूपमा जनकपुर विजेता बन्न भने फाइनलको प्रतीक्षा गर्नु थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलसँगै अब जनकपुरले आफूलाई विजेता मात्रै बनाएन, फ्रेन्चाइज कबड्डी लिगको पहिलो विजेता बनेर इतिहासमा नामसमेत लेखायो। यो उपलब्धि हासिल गर्न जनकपुरले चिर प्रतिद्वन्द्वी काठमान्डु माभरिक्सलाई ४५–४१ ले हराएको हो। उपाधिसँगै जनकपुरले पाँच लाख रूपैयाँ प्राप्त गर्‍ यो।

काठमान्डुले भने दुई लाख रूपैयाँमा नै चित्त बुझायो। जनकपुरले  ६ टोली सहभागी एनकेएलमा अपराजित रहँदै उपाधि जितेको हो। लिग चरणमा जनकपुरले पाँच जित र एक बराबरीको नतिजा हात पारेको थियो।

त्यो बराबरी पनि काठमान्डुविरुद्ध नै थियो। काठमान्डुको कमजोर डिफेन्सको फाइदा उठाउँदै जनकपुरले उक्त खेल ३९–३९ अंकमा सक्काएको थियो। यससँगै जनकपुर शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुग्यो।

काठमान्डुलाई भने त्यो बराबरी घातक साबित हुँदा इलिमिनेटर पार गर्दै फाइनलसम्मको यात्रा तय गर्न परेको थियो। जनकपुरले भने पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

 काठमान्डुले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र दोस्रो क्वालिफायरमा विराटनगरलाई नै हराउँदै जनकपुरसँग दोस्रोपल्ट भेट गर्‍यो। लिग चरणमा यी दुई टोलीले बराबरी खेलेका थिए। तर, फाइनलमा भने जनकपुरले काठमान्डुलाई पछि पार्दै उपाधि जित्यो ।

यसपल्टको भिडन्त जनकपुरका लागि पहिलो हाफसम्म सहज देखिएको थियो। थाइल्यान्डका २२ वर्षे रेइडर च्याफोन कामुनीको उत्कृष्ट प्रदर्शनसँगै जनकपुरले पहिलो हाफमा २५–१९ को अग्रता लिएको थियो। पहिलो हाफ सुरु भएको ६ मिनेट पुग्न नपाउँदै काठमान्डु अलआउट भयो। च्याफोनले आफ्नो रेइडमा काठमान्डुका तीन डिफेन्डरलाई टच गर्दै अलआउट बनाएका हुन्।

यससँगै जनकपुरले पाँच अंक जोड्दै ९–२ को फराकिलो अग्रता लियो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा पुनः काठमान्डु अलआउट भयो। योसँगै काठमान्डु खेलमा फर्किन सकेन। तर, दोस्रो हाफमा काठमान्डुले पुनरागमन गर्न सफल भयो।

दोस्रो हाफको सुरुआती तीन मिनेटमै काठमान्डुले अन्तर एकमा झार्ने अवसर प्राप्त गरेको थियो। तर, रेइडर मिजानुर रहमानले पाँच जनालाई टच गरे पनि लाइनभन्दा बाहिर गइसकेको भन्दै जनकपुरलाई नै अंक दिइयो। यद्यपि, काठमान्डुले पुनरागमन गर्दै खेल ३४–३२ मा पुर्‍यायो। सोही अवस्थामा रेइडर घनश्याम रोक्कामगरले अन्तिम चार मिनेट बाँकी रहँदा दुई अंक बटुल्दै काठमान्डुलाई ३४–३४ मा ल्याए।

काठमान्डुले च्याफोन र नवीन लोहारलाई ट्याकलमा रोक्यो भने घनश्यामले रेइडमा दुई अंक ल्याउँदै जनकपुरलाई अलआउट गरे। योसँगै काठमान्डुले ४१–३७ को अग्रता लिएको थियो। तर, जनकपुरले अन्तिममा घनश्यामलाई ट्याकलमा रोक्यो भने अलआउट गर्दै ४५–४१ को जितसहित उपाधि पक्का गर्‍यो।

दोस्रो हाफमा जनकपुरले रेइडबाट सात, ट्याकलबाट ६ तथा बोनस र अतिरिक्त गरेर पाँच अंक मात्रै बटुल्यो। काठमान्डुले रेइडबाट सात, ट्याकलबाट पाँच, एक अलआउटबाट दुई तथा बोनस तथा अतिरिक्तबाट आठ अंक जोडे पनि जितका लागि पर्याप्त भएन। अन्तिम समय समालिन नसक्दा काठमान्डु उपाधिबाट वञ्चित रह्यो। जनकपुरका तानोङसाक स्रिहेरी उत्कृष्ट डिफेन्डर र काठमान्डुका घनश्याम रोक्कामगर उत्कृष्ट रेइडर भए। दुवैले जनही २५ हजार रूपैयाँ पुरस्कार पाए ।

प्रकाशित: १९ माघ २०८१ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App