१४ माघ २०८१ सोमबार
image/svg+xml
खेल

टाइगर कप भलिबल: एपीएफ र न्यू डायमण्डको विजयी सुरुवात

टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको शनिबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे।

प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्डले सुरुवात गरे। आयोजक टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्लबबिचको तेस्रो खेल भने भिजिबिलिटी कम हुँदा स्थगित भयो।

प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले ट्राभल इन्कारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। पहिलो दुई सेट लगातार गुमाएको एपीएफले पुनरागमन गर्दै ३–२ को सेटमा जित निकाल्न सफल भएको हो। एपीएफले थाईल्याण्डमाथि २१–२५, २०–२५, २५–१९, २५–२० र १५–७ को रोमाञ्चक जित हात पार्‍यो।

दोस्रो खेलमा न्यू डायमण्डले नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्‍यो । न्यू डायमण्डले पुलिसलाई १२–२५, २३–२५, २६–२४, २५–१८ र १५–१० ले पराजित गर्‍यो।

प्रतियोगिता अन्तर्गत पहिलो दिनको तेस्रो खेल भने भिजिबिलिटी कम हुँदा स्थगित भएको छ। तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुप अफ पोखराबिचको खेल स्थगित भएको हो।

तीन सेटमा आयोजक टाइगर ग्रुप अफ पोखराले २–१ को सेटले अग्रता लिइरहेको अवस्थामा भिजिबिलिटी कम भएपछि रेफ्री टहलसिंह थापाले दुवै टोलीका कप्तानसँग छलफल गरेर खेल स्थगित भएको घोषणा गरे। शनिबारको स्थगित खेल आइतबार बिहान हुने आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत आइतबार महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछन्। आइतबार बिहान पहिलो खेल शनिबार स्थगित भएको टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्लबबिच हुनेछ।

पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र, दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लब र तेस्रो खेल सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेताले नगद ५ लाख ८५ हजार ५ सय ५५, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५/२५ हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूलाई १०/१० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शर्माले जानकारी दिए।

प्रकाशित: १२ माघ २०८१ २१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App