उदयपुरमा आयोजित ‘पूर्व जनमुक्ति सेना मैत्रीपूर्ण फुटबल कप प्रतियोगिता ०८१’ को उपाधि सिन्धुलीले जितेको छ।
शनिबार सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा भएको फाइनल खेलमा सिन्धुलीले उदयपुरलाई १-० गोलअन्तरले पराजित गर्दै कप उचालेको हो।
सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) द्वारा गरिएको गोलले सिन्धुलीलाई विजयी बनाएको हो। फाइनल खेलको पहिलो हाफ गोलरहित टुंगिएको थियो। तर, दोस्रो हाफमा अध्यक्ष प्रख्यातले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो।
उदयपुरका खेलाडी जीवनी बान्तवा र पार्वती राईले पटक–पटक प्रहार गरे पनि जाली चुम्न नसकेपछि प्रख्यातको सोही गोल नै कप जित्न पर्याप्त साबित भयो।
लिग चरणमा सिन्धुली र उदयपुरका पूर्व जनमुक्ति सेना, माओवादी नेता, र योङ कम्युनिस्ट लिग (वाईसिएल) गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए। आयोजक संयोजक अर्जुन तामाङका अनुसार महिला र पुरुष पूर्व लडाकु खेलाडीहरूको समान सहभागिता खेलमा देखिएको थियो।
विजेता टिम सिन्धुलीलाई माओवादी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला सचिव तथा एन्फा महासचिव किरण राई, र प्रदेशसभा सदस्य सम्झना पाख्रिन (योद्धा)ले कप र प्रमाणपत्र प्रदान गरे।
पूर्व जनमुक्ति सेनाहरूलाई पुनर्मिलन गराउने, खेलकुदको माध्यमबाट शारीरिक स्वास्थ्य र सक्रियता कायम राख्ने, साथै परिवर्तनलाई संस्थागत गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक जमुसे जेपाल, उदयपुरले जनाएको छ।
प्रकाशित: १२ माघ २०८१ १८:५७ शनिबार