मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भयो।
नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्। ग्रवियल फन्टेलाले नटआउट १२ रनको योगदान दिइन्। तर, अन्य कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका बलरहरू प्रभावकारी देखिए। रचना चौधरी र सिमाना केसीले समान २–२ विकेट लिएका थिए भने पूजा महतो र कृष्मा गुरुङले समान १–१ विकेट लिए।
त्यसअघि, मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा ७३ रन जोड्दै अलआउट भयो। कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। सावित्री धामीले १० रनको योगदान दिइन् भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
स्कटल्यान्डका लागि मैसि म्याकिराले घातक बलिङ गरिन्। उनले ५ विकेट लिँदै नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारिन्। अमि बलडाइ र नइमा शेखले समान २–२ विकेट लिए भने क्रिस्टी म्यायाकोलले १ विकेट हात पारिन्।
यो हारसँगै नेपालको सुपर सिक्समा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
स्कटल्यान्डले भने यस खेलमार्फत आफ्नो पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा उनीहरू अस्ट्रेलियासँग ९ विकेटले पराजित भएका थिए।
प्रकाशित: ७ माघ २०८१ १५:१६ सोमबार




