प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पछिल्लो खेलमा बागमती प्रदेश विजयी भएको छ । उसले सोमबार त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको हो।
बाक्लो हुस्सुका कारण १५ ओभरमा छोट्याइएको खेलमा बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रनमा अलआउट भयो । आर्मीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १४, निग्मा तामाङले १३ र कप्तान लक्ष्मी साउदले १० रन बनाइन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बागमतीका लागि सोनु खड्का, कन्चन श्रेष्ठ र मनिषा उपाध्यायले समान २ तथा संस्कृती फुयाल र विपाशा शाहीले समान १ विकेट लिए ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन जोडेको थियो । बागमतीका लागि यशु पाण्डेले सर्वाधिक २५ तथा कप्तान कन्चन श्रेष्ठ २४ र यशोदा विष्ट २० रनमा नटआउट रहे ।
आर्मीका लागि इश्वरी विष्ट र लक्ष्मि साउदले समान १ विकेट लिए ।
दोस्रो खेलमा पराजित भएपनि आर्मी २ अंकमा समूह बीको शीर्ष स्थानमा कायम छ । जितसँगै बागमती २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।
समूह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
प्रकाशित: ७ माघ २०८१ १४:५९ सोमबार