नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्ज रंगशालामा आगामी फागुन १९ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो। नेपालगन्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ वटा टोलीको सहभागिता रहनेछ।
नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सञ्चालन भएपछि पश्चिम नेपालमा खेलकुदको विकासमा टेवा पुग्ने शाहको विश्वास छ। ‘लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नेछ। फुटबल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशेढुंगा बन्ने आशा छ,’ उनले भने।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) कन्द्रीय सदस्य भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास गरे।
‘यस प्रतियोगिताबाट स्तरीय महिला फुटबल खेलाडी उत्पादन हुने विश्वास छ,’ उनले भने। प्रतियोगिताका विजेता र विधागत खेलाडीलाई आर्कषक पुरस्कार दिइने आयोजकले जनाएको छ।
‘हामीले प्रतियोगिताका लागि पुरस्कार राशि आगामी दिनमा पत्रकार सम्मेलनमार्फत घोषणा गर्नेछौं, तर पुरस्कार आर्कषक नै हुनेछ,’ प्रमुख कार्यकारी शाहले थपे। प्रतियोगिताका प्रचारप्रसार उपसमिति संयोजक नीरज गौतमले पहिलोपल्ट सञ्चालन हुन लागेको लुम्बिनी कपको व्यापक प्रचारप्रसार गरिएको बताए।
प्रकाशित: ५ माघ २०८१ ११:०२ शनिबार