नेपाली राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा र मध्यक्रमकी कविता कुँवर हाबी हुँदा साबिक विजेता एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश बुधबार पनि प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजययात्रा कायमै राख्न सफल भएका छन्।
इन्दुको कप्तानीमा एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो। अर्को खेलमा कविता सम्मिलित सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७५ रनले हराउँदै एपिएफसँग अंक बराबरी गर्यो। लगातारको जितसँगै समूह ‘ए’ मा रहेका एपिएफ र सुदूरपश्चिमले चार अंक पुर्याएका छन्।
गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै सहजै भेट्टायो। खराब मौसमका कारण खेल १५ ओभरमा झारिएको थियो। यसपल्ट पनि इन्दुले एपिएफका लागि कप्तानी इनिङ खेलिन्। अघिल्लो दिन मात्रै एपिएफको जितमा इन्दुले अविजित ५२ रन बनाइएकी थिइन्। सोही लयलाई कायम राख्दै उनले गण्डकीविरुद्ध पनि २१ बलमा दुई चौकासहित अविजित २६ रन जोडिन्।
यशोदा भुजेलले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा ओपनर राजमती ऐरीलाई आठ रनमा धना क्षत्रीबाट क्याच गराएकी थिइन्। लगत्तै ममता चौधरीलाई पनि आकृति तिवारीले १८ रनमा क्याच गराउँदै एपिएफलाई दबाब दिने प्रयास गरेकी थिइन्। तर, रोमा थापा र इन्दुले आफ्नो अनुभव देखाउँदै तेस्रो विकेट लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। ११ बलमा एक चौका प्रहार गरेकी रोमा १४ रनमा अविजित रहिन्।
गण्डकीका आकृति र यशोदाको नाममा एक÷एक विकेट रह्यो। त्यसअघि कैलालीको धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकीले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रन बनायो। पहिलो खेलमा सुदूरपश्चिमसँग सात विकेटको हार खेपेको गण्डकीले एपिएफविरुद्ध भने सुरुआत ठीकठाकै गर्यो। पहिलो विकेटका लागि श्रेया शाहीले कप्तान सिर्जना पौडेलसँग ३३ रनको साझेदारी गरेकी थिइन्।
तर, स्पिनर करुणा भण्डारीले पाँचौं ओभरको पाँचौं बलमा श्रेयालाई १३ रनमा एलबिडब्लु धरापमा पार्दै उक्त साझेदारी भंग गरिन्। त्यसपछि तेस्रो नम्बरमा आएकी रेखा तामाङले सिर्जनासँग मिलेर इनिङ उकास्ने प्रयास गरिन्। सिर्जना पनि १०औं ओभरको पाँचौं बलमा रोमा र राजमतीबाट रनआउट हुन पुगिन्।
३४ बल खेलेकी उनले एक चौकासहित २५ रन बनाएकी थिइन्। त्यसपछि गण्डकी सम्हालिन सकेन। मोनिका लामिछाने र आकृति शून्य रनमा पेभेलियन फर्किए। रेखाले १७ रन बनाउँदा निरुता जिटी पाँच रनमा अविजित रहिन्। एपिएफलाई जित दिलाउन बिनु बुढाले सर्वाधिक दुई विकेट लिइन्। करुणाको नाममा एक विकेट रह्यो।
कविताको अलराउन्ड प्रदर्शन
कविता कुँवरको अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिमले अर्काे खेलमा लुम्बिनीमाथि ७५ रनको फराकिलो जित हात पार्न सफल भयो। कविताले ब्याटिङतर्फ अर्धशतक र बलिङमा एक विकेट लिएकी हुन्।
कविताकै ५५ रनको योगदानमा सुदूरपश्चिमले लुम्बिनीसामु १२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, जबाफमा लुम्बिनीले चार बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ५२ रन मात्रै बनाउन सक्यो। लुम्बिनीकी श्रुति बुढाथोकीले सर्वाधिक १४ रन बनाइन्।
कप्तान सरस्वती जिएम १२ रनमा बोल्ड हुँदा अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। गण्डकीलाई कमजोर स्थितिमा समेट्न सुदूरपश्चिमकी रेवती धामीले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित सात रन मात्रै खर्चिइन्। आशिका महराले दुई विकेट लिँदा कविता, ऋतु कनौजिया, करिष्मा थापा र जानकी थापाको नाममा समान एकएक विकेट रह्यो।
त्यसअघि ओपनर रेवतीलाई पाँच रनमै गुमाएको सुदूरपश्चिमले कविताको उत्कृष्ट ब्याटिङसँगै ६ विकेट गुमाउँदै १२७ रन बनायो थियो। कविताले ३३ बल खेली आठ चौकासहित ५५ रन बनाइन्। १६.४ ओभरमा बोल्ड भएकी उनले ओपनर मनीषा बोहरा र शोभा रोकायासँग समान २१ रनको साझेदारी गरिन्।
मनीषाले २९ बलमा तीन चौकासहित २३ रन प्रहार गरिन्। शोभा भने चार रनमै रोकिइन्। यद्यपि, ऋतुले १७ बलमा एक चौकासहित अविजित १८ रन बनाइन्। अन्य ब्याटरको प्रदर्शन भने सुदूरपश्चिमका लागि सम्झनयोग्य रहेन।
लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक तीन विकेट लिए पनि हार टार्न सकिनन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १४ रन मात्रै खर्चिएकी थिइन्। सम्झना मगर र मधु डिसीले समान एकएक विकेट लिए।
प्रकाशित: ३ माघ २०८१ १०:२७ बिहीबार