२८ पुस २०८१ आइतबार
image/svg+xml
खेल

एन्फा महिला लिग: अनिता फेरि निर्णायक

आर्मीविरुद्ध बल अगाडि बढाउँदै एपिएफकी कप्तान अनिता बस्नेत। तस्बिर: एन्फा

एन्फा महिला लिगको पहिलो चरणमा विभागीय टोलीकी कप्तान अनिता बस्नेतले अपेक्षित प्रभाव पार्न सकेकी थिइन्। औसत प्रदर्शनले उनी चर्चाको केन्द्रमा पनि रहन सकिनन्। तर, फाइनल चरणमा उनी आफ्नो खेल क्षमताको अद्वितीय झल्को प्रस्तुत गर्दै टोलीका लागि निर्णायक बनिरहेकी छन्। त्यो लय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बी त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ को महत्त्वपूर्ण जितमा पनि जारी रह्यो।

यो त्यही मैदान हो, जसमा बिहीबार मात्रै अनिताले अर्को विभागीय डर्बीमा नेपाल पुलिस क्लबविरुद्ध ह्याट्रिक पूरा गरेकी थिइन्। त्यसको दुई दिनपछि आर्मीविरुद्ध उनले गोल मात्रै होइन, दुई उत्कृष्ट असिस्ट पनि गर्दै टोलीको जितको आधार तयार गरिन्। उनको यो प्रेरणादायी प्रदर्शनले चार खेलमा अपराजित एपिएफको प्लेअफ सम्भावना लगभग सुनिश्चित छ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको एपिएफले १२ अंक जोडेको छ। समान खेल खेलेका आर्मी र पुलिसको समान ७ अंक छ। यता, बागमती युथ क्लबले तीन अंक जोड्दा वालिङ नगरपालिका अंकविहीन नै छ।

‘विभागीय डर्बीको पहिलो राउन्ड आज आएर अन्त्य भएको छ। समग्रमा यो राउन्ड हाम्रो लागि राम्रो भयो,’ एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले भने।

 एपिएफले चौथो जितमा गोल निकाल्न भने ६०औं मिनेटसम्म निकै संघर्ष गर्नुपर्‍यो। हिमा चौधरीले अनितालाई ट्याकल गरेपछि एपिएफले पेनाल्टी बक्सनजिक फ्रिकिक पाएको थियो। अनिताले नै प्रहार गरेको फ्रिकिक बललाई डिफेन्डर निशा थोकरले हेडरमार्पmत जाली चुमाइन्। तर, त्यो अग्रता धेरै समयसम्म टिक्न सकेन। त्यसको नौ मिनेटपछि नै आर्मीकी विंगर विमला चौधरीको कर्नरमा विमला थापाले गोल फर्काइन्।

यसपल्ट सेट पिसको अवसर सदुपयोग गर्ने क्रममा विमलाले रिबाउन्डको फाइदा उठाएकी हुन्। तर, अघिल्लो राउन्डमा २–१ को हार बेहोर्दाकै नियति आर्मीले दोहोर्‍याएको हो। त्यसबेला पनि एक गोलले पछि परेको अवस्थामा आर्मीले विमला चौधरीकै गोलबाट पुनरागमन गर्न सफल भएको थियो। तर, अनुशासित खेल प्रदर्शन गर्न नसक्दा रेनुका नगरकोटेको पेनाल्टी गोलबाट एपिएफले जित निकाल्यो। अमिषा कार्कीले निर्धारित समय सकिन पाँच मिनेट बाँकी हुँदा सविता रानामगरमाथि फउल गर्न पुगिन्। यही फ्रिकिक सदुपयोग गर्दै अनिताले गोल गरेकी हुन्।

त्यसको पाँच मिनेटपछि नै अनिताकै उत्कृष्ट असिस्टमा प्रीति राईले बक्स बाहिरबाट टप कर्नरबाट गोल गर्दै एपिएफको सानदार जित सुनिश्चित गराइन्। ‘पहिलो हाफमा पाएको मौकालाई सदुपयोग गर्न सकेनौं। तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न सफल भयौं। मिडमा होल्ड गर्न सफल भएनौं। त्यही कारण गोल पनि खायौं। तर, समग्रमा खेल राम्रो रह्यो,’ जिवेशले सुनाए।

दोस्रो चरणमा आर्मीको यो पहिलो हार हो। आर्मीले यसअघि विभागीय डर्बीमा पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो भने बागमतीविरुद्ध २–० र वालिङविरुद्ध १२–० को फराकिलो जित निकालेको थियो।

एपिएफले भने विभागीय डर्बीमा पुलिसलाई ६–०, बागमतीलाई ५–१ र वालिङलाई ९–० ले हराएको थियो। यससँगै एपिएफले दुई दिनको आराम गरेर माघ २ गते बागमतीसँग खेल्दै दोस्रो राउन्डको सुरुआत गर्नेछ। त्यसकै भोलिपल्ट आर्मीले विभागीय डर्बीमा पुलिससामु चुनौती पेस गर्ने तालिका छ।  

प्रकाशित: २८ पुस २०८१ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App