एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा बाहिरका वालिङ नगरपालिका र बागमती युथ क्लबले विभागीय टोलीलाई कसरी लिएका छन् भनेर कोट्याउन धेरै दिन अगाडि फर्किनै पर्दैन। सोमबार वालिङका मुख्य प्रशिक्षक दिलीप थापाले दिएको अभिव्यक्तिले नै स्पष्ट पार्छ। उनी भन्दै थिए, ‘विभाग आफैंमा बलिया छन्। उनीहरूलाई प्रतिस्पर्धा गरेर जित्छु भन्नु झुटो हुन्छ।’
थापाको मात्रै भनाइ होइन, बागमतीका सहायक प्रशिक्षक सोनाम लामाको पनि यस्तै आशय थियो। तर, मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाल पुलिस क्लबविरुद्ध उत्रिएको सोनामकै टोलीले खेलमा केही असम्भव हुँदैन भन्ने प्रस्ट्यायो। भयो के भन्दा पुलिसलाई २–० ले जित्न पनि निकै संघर्ष गर्नुपर्यो।
विदेशी खेलाडीबिना नै खेलिरहेको बागमतीको प्रदर्शनले मैदानमा रहेका खेलाडीलाई मात्रै होइन, टचलाइन सम्हालिरहेका पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवाललाई पनि अत्त्याइरहेको थियो।
‘एक गोल अगाडि भयो। तर, बागमती कुनै पनि बेला खेलमा फर्किन सक्छ भन्ने डर थियो। त्यसैले दोस्रो गोल निस्कियोस् भन्ने थियो। अन्तिम पूजा (राना) लाई डिफेन्सबाट विंगरमा सारें, ठ्याक्कै काम गर्यो र गोल निस्कियो,’ उनले सुनाए।
पहिलो चरणमा आफ्नै एकेडेमीबाट उत्पादित अधिकांश र केही विदेशी खेलाडी लिएर मैदान उत्रिएको बागमतीले यस्तै डर भोलालाई नदिएको होइन। त्यतिखेर पनि पुलिसले निर्मला उपाध्यायको निर्णायक गोलमा १–० को कठिन जित हासिल गरेको थियो। यसपल्ट बिर्सना चौधरीले उपलब्ध गराइदिएको पासमा कप्तान निरु थापाले पुलिसलाई नवौं मिनेटमै सुरुआती अग्रता दिलाइन्। तर, त्यसपछि भने बागमतीका डिफेन्सरले पुलिसलाई डरलाग्दो अवसर बुन्ने मौका नै दिएन। त्यसैले अर्को गोल थप्न ७३ मिनेट कुर्नुपर्यो।
पुलिसको अग्रपंतिमा समस्या अहिलेदेखि मात्रै होइन तीन महिना अघिदेखि नै देखिन थालेको हो। तर, जसोतसो पुलिसले तेस्रो स्थानमा रहेर फाइनल राउन्डसम्मको यात्रा तय गर्यो। त्यसअघि पुलिसले दुई डर्बीबाहेक चन्द्रपुर नगरपालिकासँग ऐतिहासिक बराबरी खेलेको थियो। यही खेलको कमजोरीबाट सिकेर फिनिसर भित्र्याउन खोजे पनि सफल नभएको भोला बताउँछन्।
‘एक स्ट्राइकर र विंगर विदेशी खेलाडी ल्याउन कुरा पनि गरेका थियौं तर मिलेन,’ उनले सुनाए। पुलिसमा ‘ब्याक लाइन’ सम्हाल्न राष्ट्रिय टोलीका पूजा राना, समीक्षा घिमिरे र अमृता जैसी छन्। गोलपोस्ट उषा नाथले सम्हालिरहेकी छन्। तर, ‘फ्रन्ट लाइन’ मा भने त्यस्ता अनुभवी खेलाडी नै छैनन्। मिडफिल्डर दीपा न्यौपाने घाइते हुँदा पुलिस निरुको भरमै खेलिरहेको छ। त्यसैले गोल खाँदैनाैं भन्नेमा पुलिस ढुक्क छ। तर, गोल गर्नेमा भने अझै सशंकित देखिन्छ।
एक गोलले मात्रै पछि परेपछि बागमतीका सहायक प्रशिक्षक सोनामले खेलमा फर्किन अञ्जली चन्द र अस्मिता चौधरीलाई ८१औं मिनेटमा मैदान उतारेका थिए। तर, त्यसको एक मिनेटपछि नै बिर्सनाको क्रसमा पूजाले गोल थप्दै भोलाको अग्रता दोब्बर बनाउने मनकामना पूरा गर्दिइन्।
अघिल्लोपल्ट सुदूरपश्चिमलाई लिगमा उकाल्न कप्तानी आर्मब्यान्ड लगाएकी अञ्जलीसँगै अस्मितालाई परिवर्तन गराउन बागमतीले ढिला गरिसकेको थियो। त्यसैले नतिजा उल्टाउन सकेन। अर्को कारण भने अन्तिममा प्लेइङ ११ नै परिवर्तन गर्नुपरेको सोनाम जिकिर गर्छन्।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी र वालिङलाई ५–१ ले हराएको पुलिस सात अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। बागमतीले भने यसअघिका दुई विभागीय टोलीसँग हार बेहोरिसकेको छ। यद्यपि, पुलिससँगको खेलले भने अब विभागीय टोलीलाई रोक्न सक्नेमा बागमती आत्मविश्वास देखिन्छ। यता, भोला बाहिरका टिम पनि राम्रो हुँदै आएको कारण पुलिस संयमित हुनुपर्ने औंल्याउँछन्।
प्रकाशित: २४ पुस २०८१ ०८:०० बुधबार