एन्फा महिला लिगको अन्तिम चरणमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको एकमात्र खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकालाई ५-० गोल अन्तरमा पराजित गरेको हो ।
कमजोर खेल खेलेको वालिङविरुद्ध पुलिस सुरुवातबाटै हावी भएको थियो । यद्यपि पहिलो गोल गर्न भने पुलिसले २७ मिनेटसम्म कुर्नु परेको थियो । अनुष्का शर्माले वालिङकी गोलकिपर बिट भएको अवस्थामा गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । अतिरिक्त समयमा सम्झना लावतीले दायाँ साइडबाट प्रहार गरेको बलले सिधै पोष्टको दिशा लिएपनि पुलिस पहिलो हाफमा नै २-० को अग्रता बनाउन सफल भयो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै पूजा लामाले पुलिसका लागि तेस्रो गोल गरिन् । त्यसको तीन मिनेटपछि नै अनुष्का शेर्पाले पुलिसका लागि व्यक्तिगत दोस्रो गोल गरिन् । ६०औं मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ५-० को अग्रता बनाउन सफल भयो । सो पछि कुनै गोल हुन सकेन र पुलिसले सहज जित दर्ता गर्यो ।
दोस्रो चरणमा ५ टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमतीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुने छन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउने छन्।
लिग माघ १६ गतेसम्म चल्ने छ।
प्रकाशित: १९ पुस २०८१ १९:२३ शुक्रबार

