ललित स्मृति एन्फा यु–१८ युथ लिगले एक खेलअगावै विजेताको रूपमा विभागीय टोली नेपाल पुलिस क्लब पाए पनि अन्य स्थानका लागि रोमाञ्चक भिडन्त हुने सम्भावना बढाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ। २१ खेलमा ११ जित, चार बराबरी र पाँच हारसहित थ्री स्टारले ४० अंक जोडेको छ, जुन दुई खेल कम खेलेको संकटा फुटबल क्लबभन्दा एक अंक बढी हो।
थ्री स्टारले आफूभन्दा चार अंक बढी जोडेको न्युरोड टिम (एनआरटी)लाई भेटाउने सम्भावना भने समाप्त भएको छ। त्यसैले अन्तिम खेल मच्छिन्द्र फुटबल क्लबसँग खेल्ने थ्री स्टारले तेस्रो स्थानका लागि संकटालाई चुनौती दिने पक्का भएको छ। २१ खेल खेलेको मनाङ भने २५ अंकसहित आठौं स्थानमा छ।
अर्को खेलमा भने प्रतियोगिताको पुछारतिर रहने पक्का भइसकेको एफसी खुमलटारले सातौं स्थानको जावलाखेल युथ क्लबलाई गोलरहित बराबरीमा रोकेको छ। एक खेल खेल्न बाँकी रहेको जावलाखेलको २६ र खुमलाटरको ११ अंक छ।
थ्री स्टारलाई लिगको १२औं जित दिलाउन न्युसन राई र रोमन श्रेष्ठले समान एक गोल गरे। यस्तै, अमृत बस्यालले एक गोल फर्काए पनि मनाङको हार टार्न पर्याप्त बनेन।
पछिल्ला चार खेलमा अपराजित रहेको थ्री स्टारलाई १९औं मिनेटमा न्युसनले सुरुआती अग्रता दिलाएका थिए। माइकल थापाको खुट्टाबाट बल खोस्दै रोमनले लामो क्रसमार्फत लेलिन राईलाई गोलको अवसर मिलाइदिएका थिए। उनले चेस्टिङ गर्दै दिएको बललाई न्युसनले प्रहार गरे पनि मनाङका गोलकिपर अग्रिमजंघ सिंह बस्नेतले बचाएका थिए। तर, रिबाउन्डमा न्युसनले बललाई जाली चुमाए।
मनाङले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफको १५औं मिनेटमा अर्को गोल थप्यो। यसपल्ट भने रोमान आफैंले गोल गरे। मध्यभागबाट आएको लामो क्रसमा उनले लिगमा व्यक्तिगत १५औं गोल गरेका हुन्। उनी थ्री स्टारका सर्वाधिक गोलकर्ता हुन्।
इन्जुरी समयको चौथो मिनेटमा अमृतले लामो प्रहार गर्दै टप कर्नरमा गोल गरे। तर, उक्त गोलले मनाङलाई खेलमा फर्काउन सकेन। बिहीबार विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब तथा संकटा र मच्छिन्द्र फुटबल क्लब भिड्नेछन्।
प्रकाशित: ११ पुस २०८१ १०:०५ बिहीबार