८ पुस २०८१ सोमबार
image/svg+xml
खेल

‘कर्मचारी-स्थानीय फुटबल प्रतियोगिता ०८१’ को उपाधि कर्मचारी समूहलाई

उदयपुरगढीमा आयोजित ‘कर्मचारी–स्थानीय फुटबल प्रतियोगिता ०८१’ को उपाधि कर्मचारी समूहले जितेको छ। स्थानीय सर्वसाधारण र कर्मचारीबीच सहकार्य र सौहार्दता बढाउने उद्देश्यले शनिबार आयोजित प्रतियोगितामा ३–० गोल अन्तरले कर्मचारी समूह जितेको हो।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर र प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँईले संयुक्त रूपमा उद्घाटन गरेको प्रतियोगिता स्थानीय उदयपुरगढी रङ्गशालामा सम्पन्न भएको हो। सर्वसाधारणतर्फ ३० वर्ष माथिका भेट्रान खेलाडीले कर्मचारी टोलीसँगै प्रतिस्पर्धा गरेको खेल निकै रोचक र प्रतिस्पर्धात्मक देखिएको थियो।

खेल सुरु भएको २२ औँ मिनेटमा सर्वसाधारणतर्फका खेलाडी उमेश राईले पहिलो गोल गरेर आफ्नो टिमलाई अघि बढाएका थिए। तर, ५ मिनेटपछि नै २७ औँ मिनेटमा कर्मचारीतर्फका ज्योतिप्रकाश चौधरीको किकमा खेलाडी अनिश रोकाले हेडिङमार्फत जवाफी गोल फर्काउँदै खेललाई बराबरी बनाए। मध्यान्तरपछिको खेल अवधिभर दुवैतर्फबाट गोल नभएपछि खेल टाईब्रेकरमा धेकलिन पुग्यो।

कर्मचारी टिमका क्याप्टेन शेखर कार्कीका अनुसार टाईब्रेकरमा कर्मचारीतर्फ अनिश रोका, ज्योतिप्रकाश चौधरी र लक्ष्मण कार्कीको प्रहार गोलमा परिणत भए पनि स्थानीयतर्फ तीनैजनाको प्रहारले जाली चुम्न नसक्दा कर्मचारी टिम शून्यका विरुद्ध ३ गोलले विजयी हुन पुगेको हो।

विजेता कर्मचारी समूहलाई पुरस्कारस्वरूप ३५ किलोको खसी प्रदान गरियो। अध्यक्ष मगर र उपाध्यक्ष जीतबहादुर खड्काले विजयी टिमलाई खसी पुरस्कार तथा अन्य खेलाडीलाई प्रमाणपत्र वितरण गरे। खेल समापनपछि प्रतियोगितालाई वनभोज कार्यक्रममा परिणत गरिएको थियो।

कर्मचारी र सर्वसाधारणबीचको सम्बन्ध सुमधुर राख्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मगरले बताए। गाउँको विकास गर्न कर्मचारी र सर्वसाधारणबीच आत्मीय सम्बन्धको खाँचो हुने भन्दै अध्यक्ष मगरले उनीहरूबीचको सम्बन्ध नजिक बनाउन यस्ता खेलकुद र वनभोज राम्रो माध्यम हुने भएकाले कार्यक्रम गरेको बताए। 

गाउँपालिकाका लेखापाल शेखर बुढाथोकीका अनुसार प्रतियोगितामा पुरस्कार दिइएको खसी खेलाडीहरू स्वयंले सङ्कलन गरेको रकमले खरिद गरिएको हो। कर्मचारी र सर्वसाधारण संयुक्त रूपमा वनभोज जाने र फुटबल पनि खेल्ने निर्णय गरेर आफू आफैँ रकम सङ्कलन गरेर खसीलगायत वनभोज सामग्री खरिद गरेर कार्यक्रम सम्पन्न गरेको बुढाथोकीले बताए।

प्रकाशित: ८ पुस २०८१ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App