८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

बंशीलाघाट पुलः म्याद नाघेको २ वर्षसम्म ५ प्रतिशत मात्रै काम

बंशीलाघाटस्थित सुन नदीमा निर्माणाधीन पक्की पुल। तस्बिरः महेश्वर

३३ महिनाभित्र बनाइसक्ने सम्झौता गरेको उदयपुर र खोटाङको सीमा बंशीलाघाटस्थित सुन नदीमा निर्माणाधीन पक्की मोटरे बल पुल म्याद अवधि सकिन लाग्दासम्म सुरु चरणमै छ। निर्माण व्यवसायीको लापरबाही र सरकारले आवश्यक बजेट नदिएका कारण सम्झौता म्याद सकिन ७ महिना बाँकी रहँदासम्म ५ प्रतिशत मात्र काम भएको छ। 

उदयपुरतर्फ चौदण्डीगढी नगरपालिका १ र खोटाङतर्फ बाराहापोखरी गाउँपालिका ६ बिच बंशीलाघाट खोटाङको दक्षिण–पूर्वी भेगका बासिन्दाका लागि तराई जिल्ला जोड्ने प्रमुख नाका हो। दैनिक सयौँको सङ्ख्यामा आउजाउ हुने सो ठाउँमा ५ दशकअघि निर्मित झोलुङ्गे पुल जीर्ण भइसकेकाले निर्माणाधीन पुल छिटो सक्नुपर्ने धपेडीलाई ठेकेदारले बेवास्ता गरिदिँदा पुल निर्माण कार्य अलपत्र परेको हो।

०७७ पुस २८ गते सम्झौता भएको पुल ०८० असोज २७ गतेभित्र अर्थात २ वर्ष ९ महिना अवधिमा निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो। सो अवधिभित्र काम सम्पन्न नभएपछि आउँदो असार मसान्तसम्मको म्याद थप्ने गरी सिफारिस भएको छ। थपेको म्यादको अवधि पनि जम्माजम्मी ७ महिना मात्र रहँदासम्म कामले गति लिन नसकेको चौदण्डीगढीका तत्कालीन नगरप्रमुख खगेन्द्र राईले बताए।

पूर्व मेयर राईका अनुसार सो पुल बनाउने सम्झौता ०७५ सालमै भए पनि डिजाइनलगायत विभिन्न तयारीको बहाना बनाउँदै ४ वर्षपछि काम सुरु भएको थियो। निर्माणको जिम्मा पाएको एमएस-कालिका-बेदान्सी जेवीले सम्झौता म्याद सकिनु १ वर्षअघि मात्र काम थालेको र निरन्तर नगर्नुले पनि समस्या भएको हो।

सप्तरीको फत्तेपुर बजारबाट उदयपुरको चौदण्डीगढी ५ शिवाई, र नगर मुकाम ६ र ७ नं. वडामा पर्ने बेलटार बजार हुँदै खोटाङको चिसापानी भएर सदरमुकाम दिक्तेल जोडिने नाका बंशीलाघाटको पुलको अत्यन्त महत्त्वपूर्ण छ। बंशीलाघाट नाका भएर उदयपुर मात्र नभई सप्तरी, सुनसरी, मोरङलगायत तराई जिल्लासँग खोटाङ र भोजपुर बासीको सोझो आउजाउ हुने गरेको छ। त्यसैले पनि निर्माणाधीन पुल छिटो सक्न स्थानीयले पटक पटक दबाब दिँदै आएका छन्। तर, निर्माण व्यवसायीले कानमा तेल हालेर बसेकाले पुल बनाउने काम अलपत्र परेको उनीहरूको गुनासो छ।

पुल निर्माणको रेखदेख र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर १ धरान, सुनसरीका अनुसार सो पुल १ सय ५० मिटर लामो तथा पैदल कवलसहित ११ मिटर चौडाईको प्राविधिक इस्टीमेट छ। मूल्य अभिवृद्धि कर (भ्याट)सहित १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैँयामा ठेक्का लागेको सेक्टरका सूचना अधिकारी आविष्कार तिम्सीनाले बताएका छन् । तर, अत्यन्त ढिलो भइरहेकाले चाँडो काम सुचारु गर्न ठेकेदार कम्पनीलाई सेक्टरले ताकेता गरिरहेको पनि उनले बताए।

बंशीलाघाट बजारका व्यापारी सन्तोष राईले पुल निर्माण कार्य छिटो सुचारु गर्न माग गर्दै नगरपालिका र विभाग तथा मन्त्रालयसम्म प्रतिनिधिमण्डल गए पनि सुनुवाइ नभएको गुनासो गरे। नगरपालिकालाई भन्दा मन्त्रालय देखाउने, मन्त्रालयलाई भन्न जाँदा विभाग र विभागले ठेकेदारलाई देखाउने गरेको उनको गुनासो छ। पहिला पनि पटक पटकको आग्रह र दबाबपछि पुल निर्माण सुरु भएको बताउने अर्का स्थानीय गोपाल राईका अनुसार काम थालेको केही समयपछि नै ठेकेदार बेपत्ता भएपछि अलपत्र परेको छ।

अर्का स्थानीय जयकुमार राईका अनुसार जीर्ण भईसकेको झोलुङ्गे पुल गएको वर्षाको बाढीले भत्काएर थप जर्जर बनाएकाले यात्रु आउजाउ गर्न जोखिम रहेको छ। झोलुङ्गे पुल भत्किसकेको र पक्की पुल नबनेपछि नदी वारपार गर्न अव फेरि डुङ्गाको युगमा फर्कनु पर्ने बाध्यता आइपर्ने राईको अनुमान छ। ‘वर्षौँ पुरानो झोलुङ्गे पुल असोज १२ को बाढीले भत्कायो’ राईको चिन्ता छ ‘पक्की पुल बन्ला भनेको, अलपत्र छ । अव फेरि हामी डुङ्गा चढेर नदी तर्नुपर्ने पर्ने त होला!’

निर्माण कम्पनी प्रतिनिधि प्रकाश खरेलले डिजाइन परिवर्तन तथा आवश्यक बजेट नपाएकाले काम गर्न ढिला भएको बताए। बिकट ठाउँ भएकाले निर्माण सामग्री र औजार उपकरण लान नयाँ सडक आफैले खन्नु परेको समस्या पनि उनले सुनाए। पहिला बनाउने गरी नक्सा डिजाइन गरेको ३ सय मिटर तल ठाउँ सार्नु परेको तथा सामान लानका लागि ट्र्याक खन्दा आफ्नै लगानी र समय लागेको उनको भनाई छ। 

प्रकाशित: ८ पुस २०८१ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App