कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरूको दर्ता,नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन २०८१ पारित गरेको छ। बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औं बैठकले मार्गनिर्देशन पारित गरेको हो।
मार्गदर्शन पारित भएसँगै अब प्रदेशमै खेल संघ, संस्था दर्ता हुने बाटो खुलेको छ। कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले मार्गदर्शनले खेलकुद विकास बोर्ड र प्रदेशमा सक्रिय रहेका खेल संघ तथा संस्थासँगको सम्बन्ध बलियो बनाउने बताए।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डले पारित गरेको मार्गदर्शनले प्रदेशमा रहेको खेल संस्थाको अभिलेखन तथा तथ्यांक संकलनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यसअघि बोर्डले विभिन्न माध्यमबाट सूचना संकलन गरेर खेल संघ तथा संस्थाहरूसँग समन्वय गरिरहेकोमा अब प्रत्यक्ष सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे।
बोर्ड बैठकले बैशाखमा भारतीय नम्बरको मोटरसाइकलको ठक्कर बाट खुट्टामा गम्भीर चोट लागि स्वास्थ्य लाभ गरिरहेका राष्ट्रिय कराँते प्रशिक्षक मो सिद्धिकी ताज बबरको कमजोर आर्थिक अवस्था कारण उपचारमा समस्या देखिएकाले आर्थिक सहयोग उपलब्ध गराईदिन सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित: ५ पुस २०८१ ०८:०० शुक्रबार