भारतीय क्रिकेटर(स्पिन बलर) रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । अस्ट्रेलियाको ब्रिसबेनमा जारी अस्ट्रेलियासँगको टेस्ट खेल नतिजाविहीन सकिएसँगै अश्विनले उक्त खेल खेलाडीका रूपमा आफ्नो जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल रहेको बताउँदै सन्न्यास घोषणा गरेका हुन् ।
खेलपछि भारतीय कप्तान रोहित शर्मासँगै पत्रकार सम्मेलनमा देखिएका अश्विनले सोही दौरान सन्न्यास घोषणा गरे । ‘अन्तर्राष्ट्रिय स्तरमा भारतीय क्रिकेटरका रूपमा यो मेरो आखिरी दिन थियो,’ उनले भनेका छन्, ‘म अन्तर्राष्ट्रिय क्रिकेटका सबै फरम्याटबाट सन्यास लिइरहेको छु । म मान्दछु कि क्रिकेटरका रूपमा म मा अझैँ केही बचेको छ । तर, त्यसको प्रदर्शन म सायद क्लब स्तरको क्रिकेटमा गर्नेछु ।’
अश्विनले आफ्नो क्रिकेट जीवनका दौरानमा धेरै फाइदा उठाएको पनि बताएका छन् । उनले भने, ‘कैयौँ सानदार याद जोडिएका छन्, रोहित शर्मा र अन्य कैयौँ साथिसँग साथ बिताएका पल याद छन् । ड्रेसिङ रुममा उनीहरूसँग जोडिएका याद पनि छन् । जो अब म टिममा छैनन् ।’ उनले रोहितका अलावा, विराट कोहली, अजिक्या रहाणे, चेतेश्वर पुजारालाई आफ्नो बलमा राम्रा राम्रा क्याच गरिदिएकामा धन्यवाद पनि दिए । उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई)लाई धन्यवाद दिएका छन् ।
त्यसपछि उनले आफ्नो भावुक क्षण भन्दै पत्रकारसँग कुनै प्रश्न नसोधिदिन आग्रह गरे । ‘मेरा लागि यो एकदमै भावुक समय हो । माफ गर्नुहोला । यो समयमा न कुनै प्रश्न लिन सक्ने छैन सबैलाई धेरै धेरै धन्यवाद,’ भावुक हुँदै अश्विनले भने ।
३८ वर्षीय अश्विनले टेस्ट क्रिकेटमा १०६ खेलमा ५३७ विकेट लिएका छन् । जसमा उनले ८ पटक एकै खेलमा १० विकेटसम्म लिएका छन् ।
टेस्टमै उनले ब्याटिङ तर्फ तीन हजार बढी रन बनाएका छन् । जसमा ६ शतक र १४ अर्ध शतक समेत बनाएका छन् ।
यस्तै एक दिवसीय तर्फ उनले ११६ खेलमा १५६ विकेट लिएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ६५ खेलमा ७२ विकेट लिएका छन् ।
प्रकाशित: ३ पुस २०८१ १३:०५ बुधबार