हेल्प नेपाल स्पोटर्स क्लब र गण्डकी प्रदेश भलिबल संघले जारी काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हार बेहोरेका छन्।
घरेलु मैदानमा जारी च्याम्पियनसिपमा बिहीबार नेपाली टोली हेल्प नेपाल र गण्डकी प्रदेशले पराजय सामना गरेका हुन्। यद्यपि, यो हारका बावजुद हेल्प नेपाल सेमिफाइनलमा पुग्न सफल भयो। तर, गण्डकीले भने लिगमा जितविहीन रहँदै च्याम्पियनसिपको यात्रा टुङ्ग्यायो।
दिनको पहिलो खेलमा हेल्प नेपालले इरानको यु–१८ टोलीसँग हार सामना गर्यो। दोस्रो खेलमा गण्डकीले भारतको क्यालिकट हिरोजविरुद्ध हार बेहोरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपाल इरानी टोलीसँग ३–१ सेटमा स्तब्ध भयो।
यससँगै हेल्प नेपालले जारी च्याम्पियनसिपमा पहिलो हार सामना गर्यो। अर्को खेलमा गण्डकी भारतको क्यालिकटसँग ३–० को सोझो सेटमा पराजित भयो। यससँगै शीर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग सेमिफाइनलमा खेल्ने भएको छ। दोस्रो स्थानको हेल्प नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ।
शुक्रबार पहिलो सेमिफाइनलमा इरान र क्यालिकट तथा दोस्रो सेमिफाइनलमा हेल्प नेपाल र क्लब एचडिसीबीच प्रतिस्पर्धा हुनेछ। पाँच टोली सहभागी च्याम्पिनयनसिपमा इरानको टोलीले शतप्रतिशत जित निकाल्दै १० अंक जोड्यो।
समान चार खेलबाट हेल्प नेपालले आठ अंक र क्यालिकटले सात अंक जोडे। समान खेलमा एचडिसीले तीन अंक बटुल्दा जितविहीन गण्डकीले दुई अंक लियो। बिहीबार भएको पहिलो खेलमा हेल्प नेपालले पहिलो सेट सहजै आफ्नो बनायो।
यो सेट २५–२३ ले हेल्प नेपालको पक्षमा रह्यो। त्यसपछि भने हेल्प नेपालले दोस्रो रोजाइका खेलाडीलाई अवसर दियो। त्यसपछिका तीन सेट इरानी टोलीले सहजै आफ्नो बनायो। खेलपछि इरानी टोलीले हेल्प नेपालका खेलाडीसँग हात मिलाउन मानेनन्। इरानका प्रशिक्षक अदिल घोलामीले हार्नका लागि हेल्प नेपालले दोस्रो रोजाइका खेलाडीलाई उतारेको भन्दै आफ्ना खेलाडीलाई हात नमिलाउन निर्देशन दिएका हुन्।
जित निकाल्दा नेपालको टोलीले भारतको बलियो टोली क्यालिकटको सामना गर्नुपर्दथ्यो। त्यस कारण पनि हेल्प नेपालले जानाजान खेल हार्नका लागि दोस्रो रोजाइका खेलाडी उतारेको इरानी प्रशिक्षकको बुझाइ थियो। इरानले दोस्रो रोजाइका खेलाडी उतारेपछि हेल्प नेपाल दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१७ र चौथो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो।
अर्को खेलमा पनि नेपाली टोली गण्डकी भारतको क्यालिकटसँग ३–० को सोझो सेटमा पराजित भयो। जित्नैपर्ने खेलमा पराजित भएपछि गण्डकी लिग चरणबाटै बाहिरिएको हो। क्यालिकटले गण्डकीलाई २५–२२, २५–१९ र २५–१५ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो।
नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन्। आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्।
सिंगल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्। सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन्। उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ।
प्रकाशित: २८ मंसिर २०८१ ०८:५१ शुक्रबार





